सकियो ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम

लोकपथ
21
Shares

काठमाडौं । काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसको सेमिनार हलमा ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम आज (बिहीवार) एक समारोहका बीच सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्डल कलेज तथा हस्पिटल धापसीको संयुक्त आयोजनामा साउन २२ गते देखिसुरु भएको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, पद्मकन्या बहुमुखी क्याम्पसका प्राध्यापक, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, पत्रकार, ट्राफिक स्वयंसेवक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बालेन्द्र शाहले ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरी एक्लैले नसक्ने र यसमा सरोकारवाला सबैले हातेमालो गर्नु पर्ने बताए । नगर प्रमुख बालेन्द्र शाहले ट्राफिक स्वयंसेवक भएर काम गर्ने सबैलाई धन्यवादसमेत दिएका थिए ।

ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम अन्तरगत पद्मकन्या बहुमुखी क्याम्पसमा अध्ययनरत एक सय जना भन्दाबढी विद्यार्थीहरू ट्राफिक स्वयंसेवक भएर साउन २२ गतेदेखि भदौ ८ गतेसम्म ट्राफिक प्रहरीसँग सडकमा खटिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले नागरिक पनि बिना वर्दीका प्रहरी हुन भन्ने वाक्यलाई अभ्यासमा ल्याएको बताउँदै आगामी दिनमा पनि पद्मकन्या बहुमुखी क्याम्पसको सामाजिक एवम् कार्य विभागको साथ र सहयोगको अपेक्षा रहेको बताइन् ।

यस्तै, कार्यक्रममा पद्मकन्या बहुमुखी क्याम्पसका सामाजिक एवम् कार्य विभाग प्रमुख सुप्रिता राईले उपस्थित सबैमा हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गरेकी थिईन् ।

ट्राफिक स्वयंसेवक भई खटिएका विद्यार्थीहरूले सडकमा नो–हर्न अभियान अन्तर्गत सार्वजनिक तथा निजी सवारी साधना स्टिकर टाँस्ने, पैदल यात्रीलाई जेब्राक्रसिङ तथा आकाशेपुल प्रयोग गराउने, चालकलाई ट्राफिक लाईटको पालना गर्न आग्रह गर्नेलगायतका कार्यहरू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?