महोत्तरी । महोत्तरीको औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालययमा अध्ययनरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा–६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ । छात्राको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
कक्षा–६ विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै उनिमाथि निर्घात कुटेको परिवारको आरोप छ । बालिकाको शरीरभरी लठ्ठीको सुम्ला छ । यसैको पीडाले ज्वरो आएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए ।
विद्यालयले पनि शिक्षक यादवले छात्रा कुटेको स्विकार गरेको छ । कुटाईपछि हो–हल्ला भएपछि विद्यालयले अभिभावक राखेर घटना गुपचुप बनाउने प्रयास गरेको अभिभावकहरूको गुनासो छ । ‘विद्यालयका प्रधानध्यापक शिवशरण यादवले हामीलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजे । तर हामीले मानेनौँ ।’ बलिकाका बुबा साजेन्द्र महराले भने । ‘हामी शिक्षकलाई कडा कारवाही होस् भन्ने चाहान्छौँ ।’
‘शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेको र अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँने गरेको उनकी आमा सुन्दरकलाले भनिन् ।’
उता, प्रधानध्यापक शिवशरण यादवले भने घटनामाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडी बढाउने पीडित पक्षलाई आश्वासन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया