काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपका विषयमा तत्काल कुनै पनि किसिमको छानबिन तथा कारबाही नगर्ने बताएको छ । क्यानको आज बसेको बैठकले कप्तान लामिछानेविरुद्ध आरोपमात्र लागेको भरमा आफूहरुले कारबाही प्रकृया अगाडी नबढाउने निर्णय गरेको एक पदाधिकारीले बताए ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सन्दीपमाथि घटनाको आरोपमात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए । ‘घटना सुनियोजित पनि त हुन सक्छ, यदि सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ’, क्यान अध्यक्ष चन्दको भनाइ छ ।
अध्यक्ष चन्दले कानुनीरूपमा पुष्टि नभएसम्म सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने जानकारी दिए । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्ट इन्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न यही भदौ ६ गते केन्या गएका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया