धनमाल चोरीमा संलग्न दुई जना पक्राउ

लोकपथ
0
Shares

झापा । झापामा दश लाख रुपैयाँ धनमाल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–७ बिशम टोल बस्ने राजेन्द्र गिरीको घरबाट चोरी भएको विभिन्न सामानसहित चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–१० बस्ने २२ वर्षीय रितिककुमार शर्मा र सोही नगरपालिका–७ बस्ने रोशन राजबंशी रहेका छन् । राजेन्द्रको घरबाट सुनका गहना, मोबाईल तथा नगदसमेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले मोबाईल १ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको चुराको टुक्रा २ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको पञ्चरत्नको टुक्रा २ थान, सुनको ब्रास्लेट १ थान, कानमा लगाउने सुनको रामलिला २ थान र टुक्रा पारेको अवस्थामा रहेको सुनको चन्द्रमाको टुक्रा २ थान बरामद गरेको छ ।

हाल उनीहरूमाथि जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?