काठमाडौं । एनआरएनए एकेडेमीले नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गतको पुरुष क्रिकेटमा विजयी सुरुआत गरेको छ । बिहीवार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा एनआरएनएले दिएको ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन बनायो । वर्षाको कारण ढिला सुरु भएको खेल ६ ओभरमा झारिएको थियो । सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक १२ रन बनाए भने राजु रिजालले ११ रन जोडे ।
यता एनआरएनएका लागि आशिष पोखरेल र दिपक क्षेत्रीले तीन/तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एनआरएनएले ६ ओभरमा ४ विकेट गुमाएर ७४ रन बनाएको थियो । एनआरएनएका लागि सागर पुनले अविजित ४६ रन बनाए । कप्तान सुनाम गौतमले २४ रन बनाएका थिए ।
यता, सुदूरपश्चिमका लागि हेमन्त धामी र शेर मल्लले दुई/दुई विकेट लिए । जितसँगै एनआरएनएले पहिलो खेलमै २ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत मूलपानी क्रिकेट मैदानमा तय भएको दुबै खेल रद्द भएको छ । यता त्रिवि क्रिकेट मैदानमा हुने भनिएको दोस्रो खेलपनि टस नभएरै सकिएको थियो ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय एक एनआरएनएको टोली गरी ११ टोलीको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया