लामो संघर्षपछि २०१५ सालमा नेपालमा पहिलोपटक आम निर्वाचन भयो । सो निर्वाचनमार्फत नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरि पहिलोपटक जननिर्वाचित सरकार बनायो ।
२००७ सालमै प्रजातन्त्रको बिउ रोपिए पनि आम निर्वाचनका लागि त्यसको थप ८ वर्ष लाग्यो । राणाले खोपीको देउताको रुपमा बनाएर शासन भोगेका राजा महेन्द्रमा आउँदो निर्वाचनको भयले भने सताएको थियो ।
राणासँगको कठोर लडाइँमा नहारेका कांग्रेसहित राजनीतिक दलसँग आफ्नो संघर्ष सुरु भएको र त्यसलाई परास्त गर्नुपर्ने मनोदशाबाट गुज्रिएका थिए, राजा महेन्द्र ।
जसको परिणामस्वरुप राजाले सकेसम्म राजनीतिक दललाई कमजोर पार्ने नीति अख्तियार गरेर अघि बढे । सकेसम्म निर्वाचन हुन नदिने र निर्वाचनमा गएको अवस्थामा पनि राजनीतिक दललाई कमजोर तुल्याउने राजाको दिवास्वप्न तुसारापात भएको थियो भन्दा अत्युक्ति नहोला ।
२००७ सालपछि निर्वाचन नहुँदासम्मको ८ वर्ष अनेक प्रयोग र प्रपञ्चका कारण समय बर्बाद भयो । जुन कुरा वीपी कोइरालाले ०१५ सालमा नेपाली कांग्रेसका लागि तयार पारिएको घोषणापत्रमा उल्लेख छ । तर, केही राजनीतिक उपलब्धिहरु कायम गर्न सकिएकोमा सुखानुभूति व्यक्त गरेका छन् ।
‘२००७ सालपछि भएको अनेकानेक प्रयोगले त देशको राजनीतिकस्थिति झन् अनिश्चित हुन पुग्यो । यस्ता समयमा भ्रम उत्पन्न गराउन चाहने र प्रजातन्त्रको उपहास गर्न सिपालु प्रतिगामी तत्वले मनपरी गर्न निकै मौका पाए । तैपनि यो आठ वर्षको समय सित्तैँ गयो भन्न सकिन्न,’ वीपीले भनेका छन् ।
किसानदेखि कर्मचारीसम्मलाई पत्र पठाउँदै वीपीले जनताको हक अधिकार सुनिश्चित गराउनका लागि आफ्नो पार्टीलाई मतदान गर्न आह्वान गरेका थिए ।
उक्त घोषणापत्रमा वीपीले बढो सुझबुझपूर्ण ढंगबाट माटो सुहाउँदो नीतिहरु समेटेका छन्, जसले त्यस बेलाका किसानहरुलाई उत्साहित गरेको थियो ।
घोषणापत्रको सुरुमै वीपीले किसानलाई प्राथमिकता दिएका छन् । कृषिका माध्यमबाट गाउँ–गाउँको मुहार फेर्न सकिने सपना देखेका वीपीले त्यही बेलामा हलिया र कमैया प्रथा अन्त्य गर्नुपर्ने कुरालाई प्राथमिकता दिँदै भूमिसुधार गर्नुपर्नेमा जोड दिएका थिए ।
शोषणलाई अन्त्य गरी किसान र खेताला अधिकार सुनिश्चित गर्ने र वैज्ञानिक विधि अपनाइ उत्पादन वृद्धि गर्नुपर्ने जोड कांग्रेसको रहेको थियो ।
‘भूमिबाट सामन्ती शोषण समाप्त गरी किसान र खेतालाको अधिकार सुरक्षित राख्नु,’ घोषणापत्रमा भनिएको छ, ‘वैज्ञानिक तरिका र उपायलाई अपनाएर जग्गाको उत्पादन बढाउनु ।’
हुकुमी शासनको विरुद्धमा लामोसमय संघर्ष गरेका वीपीले घोषणापत्रमा जमिनदारी प्रथाको समाप्ति, जंगलको संरक्षणदेखि बाँध कुलोको व्यवस्थासम्मका संकल्पहरु घोषणापत्रमा उल्लेख गरेका छन् ।
गाउँ नै गाउँले भरिएको नेपालमा त्यस बेला गाउँको विकास नै समग्र देशको विकास देखेका वीपीले कृषिको माध्यमबाट देशमा उद्योगधन्दाको विकास गर्ने संकल्प देखेका थिए ।
शिक्षाबाट बञ्चित त्यस बेलाका नेपालीले स्पष्ट भाषामा बुझ्ने गरी तल्लो तहको कुरा समिटिएको घोषणापत्रको हरेक प्रशंगमा गाउँको विकास र किसानको उन्ननयनमा जोड दिएका छन् ।
सहकारीतामार्फत् कृषकहरुलाई एकीकृत गरि गाउँको विकास साथै औधोगिक विकास गर्ने सपना देखेका वीपीले ठूला कलकारखाना निर्माणका लागि विदेशी सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूवाट ऋण लिने पाउने घोषणा गरेका थिए ।
लामो समयदेखि जनताहरुको अधिकार कुन्ठित पारिएको नजिकबाट नियालेका वीपीले किसान र मजदुरहरुको समस्या र उनीहरुको जीवन उकास्ने किसिमको संकल्प घोषणापत्रमा उल्लेख गरेका छन् । घोषणापत्रको हरेक पक्षसँग जनता जोड्ने संकल्प र परिकल्पना वीपीले गरेका थिए ।
नेपाली कांग्रेस समाजवादी संस्था रहेको बताउँदै वीपीले मनुष्यले मनुष्यको शोषण नगर्ने र धनको आधारमा साना ठूलाको भेद नहुने किसिमको समाज निर्माण गर्न चाहेको स्पष्ट पारेका थिए । ‘नेपाली कांग्रेस समाजवादी संस्था हो । यसको अन्तिम लक्ष्य एउटा यस्तो आदर्श व्यवस्था स्थापित गर्नु हो, जहाँ मनुष्यले मनुष्यको शोषण गर्ने छैन । धन दौलतका अभावमा उत्पन्न भएको सानाठूलाको भेद नेपाली कांग्रेस समाप्त गर्न चाहन्छ,’ घोषणापत्रमार्फत वीपीले भनेका छन् ।
फेरि नेपालमा निर्वाचनको माहोल सुरु भएको छ । उसो त राजनीतिक दलहरु जनतामाझ जान घोषणापत्र बनाउनमा व्यस्त छन् । कांग्रेस पनि यही मेलोमा छ । के कांग्रेसले ०७९ को निर्वाचनमा ०१५ को घोषणापत्र पल्टाउने चेष्टा राख्ला ?
कांग्रेसको घोषणापत्रको पूर्णपाठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया