छैन वृद्धभत्ताको लोभ : अझै सत्ता यात्राको सोख !

६८ कटेका ३५ नेता

कहिल्यै अवकाश हुन नपर्ने क्षेत्र कुन हो ? नेपालीका लागि यसको सहज उत्तर हुन सक्छ– राजनीति । हुन त राजनीति सेवा हो यद्यपि नेपालका राजनीतिक दलका नेताले यसलाई पेसा नै मान्ने परिपाटीले यसको परिभाषा नै बदलियो ।

एउटा सरकारी कर्मचारी ५८ वर्षमा रिटायर्ड अर्थात अवकाश प्राप्त गर्छ । अनि, नेपालका वृद्धवृद्धालाई निष्क्रिय उमेरसमूहमा प्रवेश गरेको भन्दै सरकारले ६८ वर्षमै भत्ता दिने व्यवस्था पनि गरेको छ । तर, नेपालका राजनीतिक दलका नेताहरु भने ८० वर्ष पार गरिसक्दा पनि मुलुक हाँक्ने चाबी आफ्नो कब्जामा पार्न मरिहत्ते गरिरहन्छन् ।

तर, मुलधारका राजनीतिक दलले पुस्तान्तरणका खोक्रा भाषण गर्दै युवालाई आफ्नो पक्षमा पार्ने मन्त्र नै बनिसक्यो । यद्यपि, न युवापुस्ताले पाका अर्थात वृद्ध नेताहरुको खुलेर विरोध गर्न सकेका छन् । न त शीर्ष नेताले युवापुस्तालाई नेतृत्व सुम्पिएर आफूले बिश्राम लिन चाहेका छन् । त्यसैले आगामी निर्वाचनबाट फेरि पनि त्यही वयोवृद्ध नेताहरुकै हातमा मुलुकको चाबी पुग्ने निश्चित प्रायः छ । अझ भने प्रजातन्त्रको पुनस्थापनपछि मुलुकलाई हाँकेका र पटक–पटक प्रधानमन्त्री बनिसकेका परिक्षित तीन दशक पुराना नेताले नै फेरि हालिमुहाली गर्ने अवस्था बन्दैछ । अनि तिनै वृद्ध नेताहरुको अभिव्यक्ति आउँछ राजनीति एजले होइन एजेण्डाले चल्छ । के अब तिनै वृद्ध एजेण्डाले नेपालको मुहार फेरिएला त ?

त्यसैले लोकपथले वृद्ध नेताहरुको राजनीतिक पृष्ठभूमी र उनीहरुको आगामी चुनावी लालसाका बारेमा चर्चा गर्ने प्रयास गरेको छ ।

शेरबहादुर देउवा (७६)

संसदीय राजनीतिमा सबैभन्दा भाग्यमानी र राजनीतिक यात्रामा सबैभन्दा सफल पात्र हुन्–प्रधानमन्त्री शेरबहादुर देउवा । २०४८ सालदेखि यता उनी ५ औँ पटक प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन् । पार्टी राजनीतिमा समेत सफल उनी एक कार्यकाल सभापति सकेर अर्को कार्यकाल नेतृत्व गरिरहेका छन् । २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा प्रधानमन्त्री बन्ने अवसर पाएका देउवा आगामी निर्वाचनबाट समेत प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

डडेल्धुराको विकट गाउँमा २००३ सालमा जन्मिएका देउवा उमेरले ७६ वर्ष पुगे । उनैको सरकारले तोकेको वृद्धभत्ताको ६८ वर्षे हदम्यादभन्दा ८ वर्ष बढी उमेरका भइसके उनी । निरन्तर ३ दशकभन्दा बढी समय सत्ताको केन्द्रमा रहेका देउवालाई संसद छिर्ने रहर भने अझै मरेको छैन । उसो त आउँदो निर्वाचनमा डडेलधुराबाट फेरि चुनाव उठ्ने सुरसारमा छन् ।

केपी शर्मा ओली (७१)

दुई–दुई पटक मुलुकको प्रधानमन्त्री बनिसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अझै निर्वाचन लड्ने धोको पुगेको छैन । २०४८, २०५१, २०५६ को निर्वाचनमा झापा क्षेत्र नं ६ बाट निर्वाचित ओली २०६४ को निर्वाचनमा पराजित भएका थिए । त्यस्तै २०७० मा झापा ७ र २०७४ को निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित उनी आगामी निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट सिफारिसमा परेका छन् । उमेरले ७१ पुगेका ओली निर्वाचित भएर सांसद मात्रै होइन् पुनः प्रधानमन्त्री बन्ने गरी निर्वाचनमा होमिएका हुन् । उनको पार्टी नेकपा एमालेले प्रधानमन्त्रीको रुपमा उनको नाम सिफारिससमेत गरिसकेको छ ।

रामचन्द्र पौडेल (७८)

नेपाली राजनीतिका अर्का वयोवृद्ध नेता हुन्– रामचन्द्र पौडेल । १७ पटक प्रधानमन्त्रीको प्रतिष्पर्धामा असफल बनेका पौडेलले राजनीतिमा भने अझै हार मानेका छैनन् । उमेरले ७८ बसन्त पार गरिसक्दा पनि उनको प्रधानमन्त्री बन्ने चाहना अझै तन्नेरी बन्दै गएको छ ।
पौडेल ०७४ को निर्वाचनमा प्रधानमन्त्री बन्ने अभिलाषाका साथ चुनावमा होमिएका थिए । यद्यपि, उनको पक्षमा नतिजा नआएपछि पाँच वर्ष संसद बाहिर नै बस्नुपर्यो । यद्यपि, पौडेललाई संसद भने कुनै नौलो विषय होइन । २०१७ सालबाट राजनीतिमा सक्रिय भएका पौडेललाई जनताले ५ पटकसम्म संसद छिराए । २०४८, २०५१, २०५६, २०६४ र २०७० को निर्वाचनमा पौडेलले जित निकालेका थिए । आगामी निर्वाचनका लागि उनी तनहुँ १ बाट सिफारिस भएका छन् ।

माधवकुमार नेपाल (७०)

उमेरले पनि नेटो काटेका अर्का नेता हुन् – माधवकुमार नेपाल । ७० वर्षीय नेपाल दुई पटक मुलुकको प्रधानमन्त्री बनिसकेका छन् । संसदीय राजनीतिमा पुराना नेताका रुपमा परिचित उनलाई समेत अझै निर्वाचन जित्ने धोको पूरा भएको छैन । २०४८ सालमा राष्ट्रिय सभा सदस्य बनेका उनी २०५६ को संसदीय निर्वाचनमा रौतहट १ र ४ बाट निर्वाचित भएका थिए । २०६४ सालमा दुवै क्षेत्रबाट निर्वाचन हारेर पनि संविधान सभा सदस्यमा मनोनित भइ प्रधानमन्त्री बनेका नेपाल ०७० मा काठमाडौं र रौतहट २ बाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा भने काठमाडौं क्षेत्र नं २ मा निर्वाचित भएका हुन् । अझै प्रधानमन्त्री बन्ने ध्याउन्नमा रहेका उनी आगामी निर्वाचनमा रौतहटबाट निर्वाचन लड्ने तयारीमा छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ (६८)

दुई पटक मुलुकको प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उमेरले ६८ वर्षका भए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनबाट पहिलोपटक संसद छिरेका उनी गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुन् । ०६४ को निर्वाचनमा रोल्पा र काठमाडौंबाट निर्वाचित उनी ०७० को निर्वाचनमा सिरहा ५ बाट निर्वाचित भए । २०७४ को निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका प्रचण्ड आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट उठ्ने तयारीमा छन् । आगामी निर्वाचनबाट सांसद छिर्ने मात्र नभइ प्रधानमन्त्री बन्ने सुरसारमा छन्, प्रचण्ड ।

डा. शेखर कोइराला (७२)

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको पनि सक्रिय उमेरले नेटो काटेको ४ वर्ष बित्यो । यद्यपि, ७२ वर्षीय कोइरालाको राजनीतिक सक्रियता भने उत्तिकै छ । उसो त उनी आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । ०७४ को निर्वाचनमा उनी वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग पराजित भएका थिए । भलै कोइराला कांग्रेसभित्रका प्रतिपक्षी भूमिकामा देखिने नेता हुन् । गत मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा पराजित भएका डा. कोइराला आगामी निर्वाचनमा मोरङ क्षेत्र नं ६ बाट सिफारिस भएका छन् । ‘हेबीवेट’ नेता रहेका कोइराला आफ्नो क्षेत्रबाट सर्वसम्मत भने हुन सकेनन् ।

ईश्वर पोखरेल (६९)

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल आगामी निर्वाचन लड्ने तयारीमा रहेका छन् । उमेरले ६९ वर्षका पोखरेल २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनी २०५४ सालको संसदीय निर्वाचनमा राष्ट्रिय सभामा निर्वाचित, २०५६ मा काठमाडौं क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यस्तै २०७४ को निर्वाचनमा निर्वाचित भएसँगै उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । आगामी निर्वाचनमा समेत उनी काठमाडौं क्षेत्र नं ५ बाट सिफारिसमा परेका छन् ।

सुवासचन्द्र नेम्वाङ (७०)

२०४८ सालदेखि २०७४ सालसम्म निरन्तर सांसद बनेका सुवासचन्द्र नेम्वाङलाई अझै सांसद बन्ने रहर मेटिएको छैन । यद्यपि, उनको उमेरले भने विश्राम लिन सुझाव दिन्छ । ७० वर्षीय नेम्वाङ ०४८ र ०५६ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । साथै, २०६४, २०७० र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । व्यवस्थापिका संसददेखि प्रतिनिधिसधाको समेत सभामुख बन्ने अवसर पाएका नेम्वाङ अझै पनि जनतामाझ जाने सुरसारमा छन् ।

पशुपति शमशेर राणा (८१)

उमेरले ८१ वर्ष पुगेका पशुपति शमशेर राणालाई अझै सांसद बन्ने रहर पुगेको छैन । पञ्चायत कालमै पटक–पटक मन्त्री बन्ने अवसर पाएका राणा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट पराजित भएका थिए । तत्कालिन वाम गठबन्धनका उम्मेदवार एमालेका शेरबहादुर तामाङसँग पराजित राणा आगामी निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा छन् ।

डा. रामशरण महत (७२)

उमेरले नेटो काटिसक्दा पनि नेपाली कांग्रेसका डा. रामशरण महतमा सत्ता मोह अझै टुटेको छैन । ७२ वर्षीय महत आगामी निर्वाचनमा प्रत्यक्ष निर्वाचनमार्फत संसद छिर्ने मनसायमा छन् । उसो त उनको नाम नुवाकोट १ बाट सिफारिस भएको छ । महत राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै पटक–पटक अर्थमन्त्री बनिसके । २०४८ यता भएका सबै निर्वाचनमा उम्मेदवार बनेका महत ०४८ र ०७४ को निर्वाचनमा भने पराजित भएका थिए ।
०४८ को निर्वाचनमा राप्रपाका डा. प्रकाशचन्द्र लोहनीसँग पराजित बनेका उनी ०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार माओवादीका हितबहादुर तामाङसँग पराजित भएका हुन् ।

अर्जुननरसिंह केसी (७२)

आगामी निर्वाचन लड्ने तयारीमा छन् कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी । २०४८ सालदेखि निरन्तर निर्वाचन लड्दै आएका केसी २०४८, २०५१ र २०७० सालको निर्वाचनमा निर्वाचित भए । तर, २०५६, २०६४ र २०७४ को निर्वाचनमा भने पराजित हुन पुगे । हाल उनी नुवाकोट क्षेत्र नं २ बाट सिफारिसमा परेका छन् । उमेरले ७२ वर्ष पुगेका केसी अन्य शीर्ष नेताहरु अभिभावकको भूमिकामा रहेको अवस्थामा आफू सहयोगीको भूमिकामा रहने बताउँछन् ।

विजयकुमार गच्छादार (६९)

कांग्रेस नेता विजयकुमार गच्छादार उमेरले ६९ वर्ष पुगे । २०४८ सालयताका चुनावमा निरन्तर निर्वाचित भइरहेका उनले २०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा कांग्रेसबाट बाजी मारेका थिए । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा मधेसी जनाधिकार फोरमको तर्फबाट निर्वाचित भएका उनी २०७४ को निर्वाचनमा पुनः नेपाली कांग्रेसको उम्मेदवार बनेर जित हासिल गरेका थिए । आगामी निर्वाचनमा पनि गच्छादार सुनसरी क्षेत्र नं ३ बाट सिफारिस भएका छन् ।

कृष्णप्रसाद सिटौला (७३)

नेपाली राजनीतिक वृत्तमा उमेरले नेटो काटेका अर्का नेता हुन् नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला । नेपाली राजनीतिका चतुर खेलाडीको चिनिने सिटौला २०४८ सालदेखि निरन्तर निर्वाचन लड्दै आएका छन् । उनी उमेरले ७३ वर्ष पुगे । कांग्रेस पूर्व महामन्त्री समेत रहेका सिटौला आगामी निर्वाचन लड्ने तयारीमा रहेका छन् । झापा क्षेत्र नं ३ बाट प्रतिनिधित्व गर्ने सिटौलालाई क्षेत्रीय कार्यसमितिले सर्वसम्मत सिफारिस गरेको छ । २०४८ मा पहिलो निर्वाचनमा पराजित उनी पुनः भएको उपनिर्वाचनमा निर्वाचित भए । २०५१ को निर्वाचनमा पराजित सिटौला २०५६ मा र २०७० सालको निर्वाचनमा भने सांसद बनेका थिए । तर २०६४ र २०७४ को निर्वाचनमा भने पराजय भोगे । संसदीय राजनीतिमा लामो समय बसेर पनि नथाकेको सिटौला आगामी निर्वाचन पुनः लड्ने तयारीमा छन् ।

बलबहादुर केसी (७३)

उमेरले ७३ वर्ष पुगेका कांग्रेस नेता बलबहादुर केसी आगामी निर्वाचन लड्ने तयारीमा छन् । २०७४ को निर्वाचनमा पराजित नेता केसी हिमाली जिल्ला सोलुखुम्बुबाट निर्वाचन लड्दै आएका छन् । ०४८, ०५१ र ०५६ को संसदीय चुनावमा विजयी भएका केसी २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका गोपाल किराँतीसँग पराजित भएका थिए । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी विजयी भए । त्यस्तै, ०७४ को निर्वाचनमा पनि केसीले पराजय भोग्नुपर्यो । आगामी निर्वाचनमा सोलुबाट उनको नाम समानुपातिकमा परेसँगै आपत्ति जनाएका छन् भने आफू प्रत्यक्ष चुनाव लड्ने तयारीमा रहेको बताएका छन् ।

कृष्णलाल महर्जन (६८)

वृद्ध नेताको सूचीमा रहेको अर्को नाम हो कृष्णलाल महर्जन । उनी ६८ वर्षका भए । ०७४ को निर्वाचनमा ललितपुर–२ मा तत्कालिन बाम गठबन्धन नेकपा एमालेबाट निर्वाचित उनी यतिबेला नेकपा एकीकृत समाजवादीमा छन् । गठबन्धनको भागबण्डा मिलाउँदा ३ क्षेत्र रहेको ललितपुरमा उनी क्षेत्र नं २ बाट निर्वाचन लड्ने तयारीमा छन् । २०५६ र २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए ।

चन्द्रकान्त चौधरी (७५)

उमेरले ७५ वर्ष पुगेका चन्द्रकान्त चौधरीसमेत आगामी निर्वाचन लड्ने सुरसारमा छन् । २०७४ सालको निर्वाचनमा सप्तरी क्षेत्र नं ३ बाट निर्वाचित चौधरीको नाम आगामी निर्वाचनका लागि सोही क्षेत्रबाट सिफारिसमा परेका छन् । तत्कालिन राजपाबाट निर्वाचित उनी हाल महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा छन् । २०१८ सालबाट २०४६ सालसम्म प्रधानपञ्च बनेका चौधरी त्यसपछि नेपाली कांग्रेसमा थिए । तर, २०७४ सालमा रापजामा आवद्ध भइ निर्वाचन जितेका हुन् । आगामी निर्वाचनमा सो क्षेत्रबाट उनीसहित अन्य ४ जनाको नाम सिफारिसमा परेको छ ।

झलनाथ खनाल (७३)

पूर्व प्रधानमन्त्री झलनाथ खनालको उमेरले पनि विश्राम लिन भन्छ । यद्यपि, उनको धोको भने अझै सांसद बन्ने छ । २०४८ सालदेखि २०७४ सम्म निरन्तर सांसद बनेका खनाल हाल एकीकृत समाजवादीको सम्मानित नेताको रुपमा रहेका छन् । ७३ वर्षीय खनाल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा नेकपा एमालेको तर्फबाट इलाम–१ बाट निर्वाचित भएका थिए । आगामी निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट सिफारिसमा परेका छन् । अबको निर्वाचनपछि राष्ट्रपति बन्ने दाउमा छन्,खनाल ।

दिलेन्द्रप्रसाद बडू (६८)

उद्योग तथा वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडू पनि उमेरले ६८ वर्ष पुगे । यद्यपि, उनी अझै पनि निर्वाचन लड्ने कसरतमा छन् । ०७४ को निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट संसद छिरेका बडू २०४८ र २०५६ को आम निर्वाचनमा दार्चुलाबाट निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा समानुपातिकबाट सांसद बनेकाहरुलाई आागामी निर्वाचनमा समानुपातिकाबाट सांसद बन्ने बाटो विधानले रोकेपछि अब प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन् ।

नागेन्द्रकुमार राय (६९)

नेपाली राजनीतिका अर्का वृद्ध नेता हुन् नागेन्द्रकुमार राय । ६९ वर्षीय राय पनि आगामी निर्वाचनमा उठ्दैछन् । ०७४ को निर्वाचनमा कांग्रेसको कोटाबाट समानुपातिक सांसद हुँदै संसद छिरेका थिए, उनी ।

०४८ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय राय ०५६ मा सर्लाही ४ बाट सांसद बनेका थिए । आगामी निर्वाचनमा पनि नेपाली कांग्रेसले सोही क्षेत्रबाट उनको नाम सिफारिस गरेको छ ।

नारायण खड्का (७४)

उमेरले ७४ वर्ष पुगेका परराष्ट्रमन्त्री नारायण खड्का अझै थाकेका छैनन् । उसो त आगामी निर्वाचनमा लड्ने तयारीमा छन् । ०६४, ०७० र ०७४ को निर्वाचनमा उदयपुर क्षेत्र नं १ बाट निर्वाचित खड्का सोही क्षेत्रका लागि सिफारिस भएका छन् ।

डा. बाबुराम भट्टराई (६८)

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि वृद्धको सूचीमा दर्ज भएका छन् । उनी यसैवर्षबाट ६८ वर्ष पुगे । उमेरले त डा. भट्टराईलाई विश्रामको घन्टी बजाइसकेको छ । यद्यपि, उनी भने अझै पनि निर्वाचन जितेर मुलूकको प्रधानमन्त्री बन्ने छिर्केदाउको खोजीमा छन् । माओवादी सशस्त्र विद्रोह हुँदै मुलधारको राजनीतिमा प्रवेश गरेका उनी हाल नेपाल समाजवादी पार्टीमा छन् । ०६४ सालबाट निरन्तर गोरखा–२ बाट निर्वाचित हुँदै संसद छिरेका डा. भट्टराई आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा लड्ने तयारीमा छन् ।

भरतकुमार शाह (६८)

सक्रिय उमेरबाट बिदा भएका अर्का नेता हुन्– कांग्रेस नेता भरतकुमार शाह । उनी उमेरले ६८ वर्ष पुगे । यद्यपि, राजनीतिमा भने अझै सक्रिय छन् । सम्मुखमा रहेको निर्वाचनले शाहलाई झनै सक्रिय बनाएको छ । २०५६ सालमा रुपन्देही ५ बाट पहिलोपटक सांसद बनेका उनी पुनस्थापित संसदको सदस्यदेखि २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । त्यस्तै, आगामी निर्वाचनमा समेत सोही क्षेत्रबाट सिफारिसमा परेका छन् ।

वामदेव गौतम (७४)

नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतम अझै निर्वाचन लड्ने तयारीमा छन् । उमेरले ७४ वर्ष पुगेका गौतम पटकपटक सांसद भइ उपप्रधानमन्त्री समेत भइसकेका छन् । गौतम २०४८, २०५१ र २०७० को निर्वाचनमा बर्दियाबाट निर्वाचित भएका थिए । त्यस्तै २०५६, २०६४ र २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका थिए गौतम तत्कालिन नेकपाको विभाजनपछि लामो समय वामपन्थी एकतामा लागेका थिए । एमालेको उपाध्यक्षबाट राजीनामा दिएर अभियान चलाएका गौतम प्यूठान क्षेत्र नं १ बाट निर्वाचन लड्ने घोषणासमेत गरिसकेका छन् । तर उनीसँग आफ्नै चुनाव चिह्न भने छैन । उनले आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकार भित्रको हसिया हथौडाबाट निर्वाचन लड्ने मुडमा छन् ।

डा. प्रकाशचन्द्र लोहनी (७८)

उमेरले ७८ पुगेका पूर्व अर्थमन्त्री समेत रहेका डा. प्रकाशचन्द्र लोहनी अझै चुनाव लड्ने तयारीमा छन् । पञ्चायतकालिन राजनीतिमा चर्चित पात्र हुन् उनी । डा. लोहनी २०२८, २०३९ र २०४२ सालमा नुवाकोटबाट सांसद बनेका थिए । त्यसैगरी २०४८, २०५१ र २०५६ को निर्वाचनमा प्रत्यक्ष चुनाव जितेका थिए । २०६४ सालमा समानुपातिकबाट सांसद बनेका लोहनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने पराजित भए । २०७४ को निर्वाचनमा भने प्रतिष्पर्धामा आएनन् । उमेरले ७८ लागेका डा. लोहनी आगामी निर्वाचनमा नुवाकोट–१ बाट समानुपातिक र प्रत्यक्ष दुवैमा सिफारिस भएका छन् ।

चित्रबहादुर केसी (८२)

उमेरले ८२ वर्ष पुगेका चित्रबहादुर केसीलाई समेत अझै राजनीतिक मोहले छोडेको छैन । राष्ट्रिय जनमोर्चाका केसी २०५१ को निर्वाचनमा बागलुङ–१ बाट निर्वाचनमा भाग लिएका थिए । भलै उनी पराजित भए । २०५६ र २०६४ को निर्वचनमा विजयी भएका उनी २०७० को निर्वाचनमा भने समानुपातिकबाट सांसद बनेका थिए । २०७४ को निर्वाचनमा प्रतिष्पर्धामा नआएका उनी आगामी निर्वाचनको भने तयारीमा रहेका छन् । गठबन्धनमा आवद्ध उनको दलले २ सिटको लबिङ गरिरहेको छ । जसमा केसी बागलुङ र हालकी सांसद दुर्गा पौडेललाई प्यूठानबाट चुनाव लडाउने तयारीमा रहेका छन् ।

महन्थ ठाकुर (८०)

प्रतिनिधि सभाको सबैभन्दा जेष्ठ सदस्यसमेत रहेका महन्थ ठाकुरलाई अझै सांसद बन्ने रहरले छाडेको छैन । उमेरले ८० पुग्दा पनि राजनीतिक गठजोडमै छन् उनी । २०१६ सालबाट नेपाली कांग्रेसबाट राजनीतिमा पाइला चालेका ठाकुर हाल लोकतान्त्रिक समाजवादीको अध्यक्ष हुन् । २०७४ को निर्वाचनमा महोत्तरी ३ बाट निर्वाचित उनी उनको संसदीय यात्रा २०४८ सालदेखिकै हो । २०४८ र २०५१ को मध्यावधी निर्वाचनमा सर्लाहीबाट निर्वाचित भएका थिए, ठाकुर । २०६४ सालमा समानुपातिक सूचीबाट सांसद बनेका उनी २०७४ को निर्वाचनमा भने महोत्तरी–३ बाट निर्वाचित भएका हुन् । आगामी निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचन लड्न लागेका ठाकुरको निर्वाचनपछि राष्ट्रपति बन्ने चाहना छ ।

महिन्द्र राय यादव (६८)

उमेरले ६८ वर्ष पुगेका महिन्द्र राय यादव पनि आगामी निर्वाचन लड्ने तयारीमा छन् । हाल नेपाल समाजवादी पार्टीमा रहेका उनी २०५१ को मध्यावधी निर्वाचन, २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट सर्लाहीबाट निर्वाचित भएका थिए । २०६४ र २०७० को संविधान सभा निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचिन उनी आगामी निर्वाचनमा समेत सर्लाही २ बाट लड्ने तयारीमा रहेका छन् । २०७४ को निर्वाचनमा सर्लाही–२ बाट निर्वाचित उनी पटकपटक मन्त्रीसमेत भइसकेका छन् ।

मानबहादुर विश्वकर्मा (७५)

उमेरले ७५ पुगेका मानबहादुर विश्वकर्मा आगामी निर्वाचन लड्ने तयारीमा छन् । ०७० र ०७४ को निर्वाचनमा उनी नेपाली कांग्रेसको समानुपातिक सूचीबाट सांसद बनेका हुन् । दुवै निर्वाचनमा अर्घाखाँचीबाट समानुपातिक सूचीबाट सांसद बनेपनि आगामी निर्वाचनमा भने सोही क्षेत्रबाट प्रत्यक्षतर्फ लड्ने सोचमा छन् ।

मानबहादुर विष्ट (७०)

उमेरले ७० पुगेका मानबहादुर विष्टसमेत आगामी निर्वाचन लड्ने तयारीमा छन् । २०४८, २०५६ को निर्वाचनमा अछामबाट निर्वाचित विष्ट २०७४ को निर्वाचनमा समानुपातिक सांसद बनेका थिए । २०२८ सालबाट नेपाल विद्यार्थी संघबाट राजनीति प्रारम्भ गरेका उनी नेपाली कांग्रेसले समानुपातिकलाई नदोहोर्याउने भएसँगै प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

लक्ष्मणलाल कर्ण (७६)

अर्का बयोवृद्ध नेता हुन्, लक्ष्मणलाल कर्ण । उमेरले विश्रामको घण्टी बजाइसक्दा पनि कर्ण भने अझै चुनाव लड्ने सुरमा छन् । ७६ वर्षीय कर्ण आगामी निर्वाचनमा पर्सा–३ बाट उम्मेदवार बन्ने कसरतमा छन् । यसअघि ०६४ र ०७० को निर्वाचनमा समानुपातिकबाट संसद छिरेका उनी ०७४ सालको निर्वाचनमा पर्सा–४ बाट निर्वाचित भएका हुन् ।

सिताराम महतो (६९)

उमेरले नेटो काटेका अर्का नेता हुन्, सिताराम महतो । ६९ वर्षीय महतो पनि आगमी निर्वाचनको तयारीमा छन् ।०७४ को निर्वाचनमा सुनसरी–२ बाट निर्वाचित महतो उमेरले ६९ वर्षका भए । २०७० सालमा पनि सोही क्षेत्रबाट सांसद बनेका उनी आगामी निर्वाचनमा सोही क्षेत्रबाट नेपाली कांग्रेसले सिफारिस गरेको छ ।

सुजाता कोइराला (६८)

कांग्रेस नेतृ सुजाता कोइराला ६८ वर्ष लागिन् । तैपनि, उनको राजनीतिक सक्रियता भने उस्तै छ । ०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य बनेकी कोइराला आगामी निर्वाचनमा प्रत्यक्षमा निर्वाचनमा लड्ने तयारीमा छिन् । २०७० सालको निर्वाचनमा पराजित उनी ०७४ मा भने कांग्रेसको समानुपातिक सूचीबाट संसद छिरेकी थिइन् । कोइराला आगामी निर्वाचनका लागि मोरङ क्षेत्र नं २ बाट सिफारिसमा परेकी छिन् ।

मीना पाण्डे (७०)

०७४ को निर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसद बनेकी मीना पाण्डे पनि वृद्धा नेतृ हुन् । ७० वर्षीया पाण्डे २०४८ को संसदीय निर्वाचन र २०५१ को मध्यावधि निर्वाचन र २०६४ सालमा समानुपातिक सांसद बनेकी थिइन् । यद्यपि, आगामी निर्वाचनमा भने उनी सर्लाहीबाट प्रत्यक्षतर्फ चुनाव लड्ने मनस्थितिमा छिन् ।

मुकुन्द नेउपाने (७२)

उमेरले ७२ वर्ष पुगेका एकीकृत समाजवादीका नेता मुकुन्द नेउपाने आगामी निर्वाचनमा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा रहेका छन् । भोजपुरबाट प्रतिनिधित्व गर्ने नेउपाने २०४८, २०५१ को निर्वाचनमा बारा–१ बाट प्रत्यक्षमा निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा एमालेको सूचीबाट समानुपातिक सांसद बनेका उनी हाल एकीकृत समाजवादीमा रहेका छन् । साथै आगामी निर्वाचनमा उनलाई एकीकृत समाजवादीले सिफारिस गरेको छ ।

राधाकुमारी ज्ञवाली (६९)

उमेरले ७९ वर्ष पुगेकी राधाकुमारी ज्ञवाली २०७४ को निर्वाचनमा एमालेको सूचीबाट समानुपातिक सांसद बनेकी थिइन् । २०६४ को निर्वाचनमा समेत एमालेबाट समानुपातिक सांसद बनेकी उनी आगामी निर्वाचनमा पार्टीले समानुपातिकलाई नदोहो¥याउने भएसँगै प्रत्यक्षमा सिफारिस भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?