नेपाल टेलिकमले आजबाट बाड्न थाल्यो ई–सिम

लोकपथ
98
Shares

काठमाडौं । नेपाल टेलिकमले आजबाट आफ्ना ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गर्न थालेको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले नयाँ प्रविधिको ई–सिम प्रयोग गर्न सक्ने छन् ।

दूरसञ्चार कार्यालय सुन्धारा काउन्टरबाट आज (शुक्रबार) बिहानदेखि ई–सिम वितरण सुरु गरिएको टेलिकमले जनाएको छ । हाल पोस्टपेड र प्रिपेड सिम प्रयोग गरिरहेका ग्राहकहरुलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने टेलिकमले बताएको हो ।

नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई पनि हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध नगराइने कम्पनीले जनाएको हो ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक (इम्बेडेड) सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेरेबल डिभाइस) हरुमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्ने नेपाल टेलिकमले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?