पोखरा । चाडपर्वका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशभर चेकजाँच र उद्धारमा जोड दिइएको छ । चाडपर्वको समय अवधिभर ६७ ठाउँमा स्थायी ड्युटी हुनेछ भने ५१ ठाउँमा नियमित चेकिङ गरिने छ ।
२८ ठाउँबाट मादक पदार्थ सेवन गरे नगरेको जाँच गरिने छ । गण्डकीका ११ जिल्लाका ३३ ठाउँमा यात्रु सहायता कक्ष राखिने ट्राफिक प्रहरीले जनाएको छ । १५ वटा मोबाइल गस्ती, १२ वटा क्यूआरटी परिचालन हुनेछ भने १२ वटा राजमार्ग र ग्रामिण गस्ती गरिने छ ।
विपद् उद्धारका लागि १२ वटा टोली खटाइने छ । सबै कामका लागि तीन सय ६० जना ट्राफिक प्रहरी परिचालन हुने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
चाडपर्वमा सवारी दुर्घटना बढी हुने भन्दै त्यसलाई न्यूनीकरण गर्न समयमै सचेतनाका कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । पछिल्लो समय सवारी साधनको प्रयोगबाट अपराध धेरै हुने गरेको भन्दै नियन्त्रणलाई जोड दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया