दिक्तेल नगरका करार कर्मचारीको सेवा अवधि थप

लोकपथ
35
Shares

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करारमा कार्यरत कर्मचारीको करार अवधि पुनः थप गरेको छ । गत ४ साउनमा बसेको नगर कार्यपालिका बैठकबाट चालु आर्थिक वर्षको दुई महिना मात्र करारका कर्मचारीको अवधि थप गर्ने निर्णय गरेको नगरपालिकाले आसन्न निर्वाचनलाई लक्षित गर्दै आगामी पुस मसान्तसम्मका लागि करार अवधि लम्ब्याउने निर्णय गरेको हो ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई कारण देखाउँदै कार्यपालिका बैठकबाट पुनः चार महिना करार अवधि थप गर्ने निर्णय गरिएको नगर प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए । १५ वडा रहेको नगरपालिकाले गत १ असारदेखि लागू हुने गरी करारका २८ कर्मचारीलाई भने हटाएको थियो ।

करारका कर्मचारी हटाउने नगरको सो निर्णयविरुद्ध नेपाल निजामती कर्मचारी संगठन खोटाङले विरोध जनाउँदै आएको थियो । कार्यपालिका बैठकले कृषि तथा पशु सेवातर्फ करारका कर्मचारी पदपूर्ति गर्ने निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले संघीय सशर्त अनुदान शिर्षक अन्तर्गत विभिन्न शीर्षकमा थप भइ आएको बजेटहरु यस आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश नभएको हुँदा तत्काललाई उक्त बजेटहरु सम्बन्धित् शीर्षकमा खर्च गर्ने, राजस्व बाँडफाँट लगायतका केही शीर्षकहरूको बजेट निकासा नभएको हुँदा विभिन्न शीर्षकहरूमा तत्काललाई अन्य स्रोतबाट श्रोतान्तर गरी खर्च गर्ने र उल्लेखित खर्चसम्बन्धी निर्णयहरू आगामी नगरसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको छ ।

यस्तै, कम्पोष्ट मल प्लान्ट सञ्चालन कार्यविधि स्वीकृत गर्ने, नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रममा समावेश भएको बाली तथा पशु बिमा अनुदान कार्यक्रम सञ्चालन सम्वन्धमा कृषि बीमा कम्पनी र नगरपालिका बीच सम्झौता गरी कृषि, पशुपन्छी तथा जडिबुटी निर्देशिका, २०७९ बमोजिम हुने बिमामा कृषकले ब्यहोर्नुपर्ने बिमा रकमको ५० प्रतिशत रकम नगरपालिकाले अनुदान स्वरुप ब्यहोर्नुपर्ने, निश्चित मापदण्ड तोकी इन्जिनियरिङ सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरूलाई आयोजना व्यवस्थापन खर्च (कन्टिन्जेन्सी) बाट फिल्ड भत्ता उपलब्ध गराउने निर्णय गरिएको नगर प्रवक्ता घिमिरेले जानकारी दिए ।

दिक्तेलबजार क्षेत्रमा बढ्दो सडक दुर्घटनालाई मध्यनजर गरी स्थानीयबासीको माग बमोजिम निश्चित दूरीमा स्पिड ब्रेकर (होम्स) राख्ने र सोका लागि विपद् व्यवस्थापन कोषबाट आवश्यक बजेट व्यवस्थापन गर्ने, विजया दशमी अगाडि परम्परागत रुपमा चली आएको गोरेटो–घोरेटो बाटोघाटोहरु सरसफाई गर्ने कार्यलाई सबै वडाहरुबाट कुटो–कोदालो तथा सरसफाई अभियानको रुपमा विभिन्न राजनैतिक दल, टोल विकास समिति, सामाजिक संघसंस्था, क्लब, शिक्षक, कर्मचारी लगायतको सहभागितामा टोल टोलमा कम्तीमा तीन दिन सञ्चालन गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?