काठमाडौं । राष्ट्रसंघको महासभाले युक्रेनका चार क्षेत्रलाई रुसमा बिलय गर्ने रुसी कार्यको निन्दा गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । प्रस्तावलाई १४३ देशहरूले समर्थन गरेका थिए । चीन र भारतसहित ३५ देश मतदानमा सहभागी भएनन् । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले भने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
गत साता क्रेमलिनमा आयोजित एक भव्य समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनी क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेरसनलाई रुसमा गाम्नेसम्बन्धी एउटा दस्तावेजमा हस्ताक्षर गरेका थिए । सम्झौतामा चार क्षेत्रका मस्कोले स्थापित गरेका नेताहरूसँग हस्ताक्षर गरिएको थियो । त्यसअघि रुसले ती क्षेत्रमा स्व–घोषित जनमत संग्रह गरेको थियो । कथित जनमत संग्रहको पश्चिमा देशहरूले निन्दा गरेका थिए ।
प्रस्तावले अन्तर्राष्ट्रिय समुदायलाई रुसको विलयको कुनै पनि दाबीलाई मान्यता नदिन र यसलाई ‘तत्काल उल्टाउन’ माग गरेको छ । यसले वार्ताको माध्यमबाट द्वन्द्वलाई कम गर्ने प्रयासको स्वागतसमेत गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई समर्थन गर्ने देशहरूप्रति आभार व्यक्त गरेका छन् ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया