लोकपथ टप फिप्टिन : के–के छन् मुख्य समाचारहरु ? (भिडियोसहित)

लोकपथ
21
Shares

चुनावी मैदानमा होमिएका उम्मेदवारमाथि निर्वाचन आयोगले निगरानी बढाइरहेको छ । सरकारी स्रोतको दुरुपयोग गर्दै चुनावी प्रचारमा हिँडेकालाई लक्षित गर्दै आयोगले ७ बुँदे निर्देशन नै जारी गर्यो ।

यता प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु भने आफ्ना इच्छा र चाहनालाई भाषणमा मिसाइरहेका छन् ।

आजै, काठमाडौं १ मा कांग्रेसबाट उम्मेदवार बनेका प्रकाशमान सिंहले भाबी प्रधानमन्त्री हुने इच्छा जाहेर गरे, उता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आक्रामक बने, मोरङ ३ मा कांग्रेस उम्मेदवार सुनिल शर्माले मतदाताको खेतमै पुगेर धान काटे, क्रिकेटर सन्दीप लामिछाने अझै ४ दिन हिरासतमै बस्ने, नवौं खेलकुदमा आर्मीलाई राम्रै दाउ लाग्यो लगायतका समाचार आजको टप फिप्टिनमा समावेश छन् ।

१. उम्मेदवारले सरकारी स्रोत साधन प्रयोग गरी चुनाव प्रचारप्रसार गरेको भन्दै निर्वाचन आयोगले दियो ७ बुँदे निर्देशन, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष बनाउनका लागि आचारसंहिता कार्यान्वयन गर्न आग्रह ।

२. आगामी निर्वाचन प्राप्त उपलब्धिको रक्षा गर्ने र उल्ट्याउने शक्तिबीचको लडाइँ भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ, निर्वाचन पार्टी र जनताकै जीवन–मरणको सवाल भएको टिप्पणी ।

३. हरेक कोणबाट आफू प्रधानमन्त्री बन्न योग्य रहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको दाबी, आफू उप–प्रधानमन्त्रीसमेत बनिसकेको बताउँदै प्रधानमन्त्री बनेर देशको विकास गर्ने भोक रहेको भनाइ ।

४. राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकर्ताप्रति आक्रामक अभिव्यक्ति, तालमेल गरेर गएको दल एमालेलाई भोट नहाले चुनावपछि कार्यकर्ता नै नरहने चेतावनी ।

५. चुनावलक्षित कार्यक्रममा एक अर्काप्रति कटाक्ष गर्दै राजनीतिक दल, नेपाली कांग्रेससँग कुनै भिजन नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटाक्ष, २३–२४ वर्ष सरकारको नेतृत्व गर्दा पनि केही नगरेको आरोप ।

६. निर्वाचनको मिति नजिकिँदै गर्दा मतदातासामू पुग्दै उम्मेदवार, विभिन्न प्रपञ्च गर्दै भोट मागेका तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्दै, मोरङ–३ का कांग्रेस उम्मेदवार सुनिल शर्माले मतदाताको खेतमा काटे धान ।

७. बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु, दुर्घटनामा घाइतेहरुको उद्धार गरी उपचारका लागि अस्पताल पठाइँदै, गाडी टुक्रा–टुक्रा हुँदा नम्बर प्लेटसमेत भेटिएन ।

८. बुधबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गयो ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प, काठमाडौं आसपासको क्षेत्रमा समेत भूकम्पको धक्का महसुस, ठूलो धनजनको क्षति भने नभएको राष्ट्रिय भूकम्प मापन केन्द्रको भनाइ ।

९. माधवकुमार नेपालको संयोजकत्वमा एकीकृत समाजवादीले गठन गर्यो २ हजार ५ सय १ जनाको निर्वाचन परिचालन समिति, समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद् लगायतका पदाधिकारी रहने ।

१०. रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाई डिभिजन नं. ४ का इन्जिनियर नवराज सत्यालसहित दुई जना अख्तियारको फन्दामा, सेवाग्राहीबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक लिँदै गरेको अवस्थामा पक्राउ ।

११. साताको चौँथो कारोबारका दिन सेयर बजारमा दोहोरो अंकको गिरावट, ६४ करोड ३६ लाख बढीको कारोबार हुँदा १ हजार ८ सय ४५ दशमवल ५१ अंकमा रोकियो बजार ।

१२. युगाण्डामा इबोला भाइरसको संक्रमण भयावह बन्दै, थप ५ जनाको मृत्यु हुँदा मृतकको संख्या २४ पुग्यो, दुईवटा जिल्लामा लकडाउनसहित सार्वजनिक स्थलसमेत बन्द गरियो ।

१३. सरकारको आलोचनात्मक ट्वीट गर्ने अमेरिकी नागरिकलाई साउदीमा १६ वर्ष जेल सजाय, राज्यलाई अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई समर्थन र आर्थिक सहयोग गरेकोमा दोषी ठहर ।

१४. नेपाली राष्ट्रि क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध तेस्रो पटक म्याद थप, लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति ।

१५. र पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको वर्चश्व कायमै, महिला टीमले हक्की र दौडमा स्वर्ण पदक हात पार्दा पुरुष भलिबलको फाइनलमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?