न्यूजिल्यान्डमा गयो ६.१ म्याग्नीच्यूडको भुकम्प

न्यूजिल्यान्ड । न्यूजिल्यान्डको मध्य क्षेत्रमा मंगलवार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । 

भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् । वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पलगत्तै सांसदहरुले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए । 

अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ६ दशमलब १ म्याग्नीच्यूडको रहेको जनाएको छ । वेलिङ्टनबाट ३ सय ४० किलोमिटर उत्तरपूर्वमा जमिनको सतहबाट २ सय ७ किलोमिटर मुनि भूकम्पको केन्द्रविन्दु रहेको न्यूजिल्यान्डको आधिकारिक निकाय जियोनेटले जनाएको छ । 

प्रधानमन्त्री जासिन्डा आर्डेनले मुलुकको मुख्य भूभागमा अनुभव गरिएकाले सचेत रहन सबै नागरिकसँग आग्रह गरे । गृहमन्त्री क्रिस फाफोइले भूकम्पबाट कुनै क्षति वा चोटपटक लागेको खबर नआएको बताए । उनले संसदको कारवाहीलाई केही समयका लागि रोकिएको जानकारी दिए । 

न्यूजिन्यान्डमा प्रत्येक वर्ष १५ हजारसम्म भूकम्पका झट्का अनुभव हुने गर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?