काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान सम्पन्न भएको हो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमवार अभियोगपत्र दायर गरेको थियो ।
अभियोग पत्र दायरपछि अदालतमा मंगलवार सन्दीपको बयान भएको हो । सन्दीपसँग बयान लिने काम सकिएकाले बुधवारबाट थुनछेक बहस हुने सन्दीप पक्षका वकील मुरारी सापकोटाले बताए । उनले आज नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला सुरु भएको बताए । उनले सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्सावटमा अभियोग लगाएको बयान दिएको बताएका छन् ।
उनले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताउँदै पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टहरुको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको बताए । उनले किशोरीको बयान शंकास्पद रहेकाले किशोरीको जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरुले वकालत गर्ने स्पष्ट पार्नुभयो ।
सन्दीपमाथि गत भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया