जकार्ता । इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर जेटबाट एउटा ब्लाक बक्स फेला परेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले बताएका छन् ।
नयाँ विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लगाउन उक्त ब्लाक बक्सले मद्दत गर्ने अधिकारीहरुले विश्वास लिएका छन् ।
समितिका प्रमुख सोरजान्तो जाहजोनोले खोज तथा उद्धार टोलीले फेला पारेको ब्लाक बक्स एफडीआर ‘फ्लाइट डाटा रेकर्डर’ हो वा सीभीआर ‘ककपिट भ्वाइस रेकर्डर’ के हो भन्ने अनुसन्धान भइरहेको जानकारी दिए ।
यो उपकरणमा विमानको गति, उचाइ र दिशाका साथै चालक दलका सदस्यहरुको कुराकानी जस्ता महत्वपूर्ण जानकारीहरु सङ्ग्रहित हुन्छन् ।
केही महिना अघिदेखि मात्र प्रयोगमा ल्याइएको नयाँ बोइङ–७३७ म्याक्स ८ विमान गत सोमबार इन्डोनेसियाको उत्तरी तटीय क्षेत्रको जाभा समुद्रमा खसेको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै एकसय ८९ जनाको मृत्यु भएको थियो ।
इन्डोनेसियाका खोज तथा उद्धार टोलीले विमानको मुख्य भाग र त्यहाँ सवार व्यक्तिहरुको खोजी गरिरहेका छन् । उनीहरुले केही व्यक्तिका टुक्राटुक्रा भएका शरीरका विभिन्न भाग सङ्कलन गरेका र परीक्षण पश्चात सम्बन्धित परिवारजनलाई जिम्मा लगाइने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया