काठमाडौं । कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपिएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिवार भएको खेलमा एपिएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो । कर्णालीका लागि रविन्द्र शाहीले ८० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तीले २४ तथा दिनेश अधिकारीले २० रन बनाए ।
एपीएफका मौसम ढकालले ४ विकेट लिए भने कमल ऐरी र भुवन कार्कीले समान २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले आसिफ शेखको शतकीय पारीको सहयोगमा ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेले । १ सय ३६ बलको सामना गरेका आसिफले १५ चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाए । लोकेश बम र दीपक बोहराले समान १० रन बनाएका छन् ।
कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले समान ३ विकेट लिदाँ दिवन पुनले २ विकेट लिए । यस जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेर अन्तिम चारमा स्थान पक्का गरेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । कर्णालीले भने लगातार दोस्रो हार भोगेको छ ।
प्रतियोगिता अन्तर्गत शनिवार मुलपानी मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गरेको छ । मधेसले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ५० ओभर सकिन एक ओभर बाँकी रहँदा सबै विकेट गुमाएर मात्र १ सय ६७ रन बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको लुम्बिनीकालागि विशाल विक्रम केसीले सर्वाधिक ३४ रनको पारी खेल्दा कृष्ण कार्कीले ३१, सन्दिप रिजालले २३ र बसिर अहम्मद तथा मोहम्मद हुसेनले समान १५ रनको पारी खेलेका थिए । यस्तै, अभिषेक गौतम २ रनमा अविजित रहे ।
लुम्बिनीको इनिङलाई सस्तैमा रोक्ने क्रममा मधेसका राजेश यादव र प्रदीप पासवानले समान तीन विकेट लिए । यस्तै हरिशंकर साहले दुई विकेट निकाल्दा रुपेश सिंहको नाममा एक विकेट रह्यो । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो । ओपनर सन्तोस कार्की र हरिशंकर शाहले अर्धशतकीय पारी खेले । सन्तोषले ५० रन बनाउँदा हरिशंकर शाहले ७६ रनको व्यक्तिगत स्कोर बनाएका थिए । यस्तै, अनिल साहले पनि अर्धसतकीय पारी खेल्दा विवेक यादवले २१, मोहम्मद आदिल अलामले १२ रन जोड्नु बाहेक अन्यले राम्रो स्कोर बटुल्न सकेनन् । मधेसको सबै विकेट निकाल्ने क्रममा कृृृष्ण कार्कीले सर्वाधिक ३ विकेट हात पारे । अनिल खरेलले २ विकेट निकाल्दा बसिर अहम्मद, देव खनाल, मोहम्मद हुसेनको नाममा समान एक विकेट रह्यो ।
प्रतियोगितामा आईतवार पनि दुई खेल हुनेछन् । मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लव तथा कीर्तिपुर मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया