काठमाडौं । पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) विहीवार (आज)देखि सुरु भएको छ । विश्व च्याम्पियनसिप करिब दुई महिनासम्म मलेसिया र इण्डोनेसियामा हुन लागेको हो । प्रतियोगितामा नेपालका तीनसहित विश्वभरका ४८ टोली सहभागि छन् ।
विश्वभरबाट क्षेत्रीय छनोटमार्फत विश्व च्याम्पियनसिपका लागि अघिल्लो साता सम्पन्न दक्षिण एसियाली छनोटमा दोस्रो भएको डीआरएस गेमिङ, तेस्रो स्काइलाइट्ज गेमिङ र पाँचौं भएको ट्रेण्ड टू किल (टीटूके)ले विश्व च्याम्पियनसिप खेल्नेछन् ।
पीएमजीसीमा छनोट प्रतियोगिताबाट आएका ४८ टिमलाई १६ टिमका दरले तीन समूहमा विभाजन गरिएको बताइएको छ । नेपालबाट छनोट भएका तीन टोली मध्ये डीआरएस गेमिङ समूह रेड, स्काइलाइट्ज गेमिङ समूह ग्रीन र टीटूके गेमिङ समूह एल्लोमा परेका छन् । डीआरएसका खेलाडीहरु दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टाई हुन् ।
स्काइलाइट्जमा अजय श्रेष्ठ, युजेन लामा, अन्जन राई र निमा तामाङ तथा टीटूके टिममा अभिशेक सिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्य जस्ता स्टार खेलाडीहरु समावेश छन् ।
तेस्रोपल्ट हुन लागेको पीएमजीसीमा नेपालको डीआरएस टिम लगातार छनोट हुँदै आएको छ । यता, आजदेखि सुरु भएको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेको टोलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले (बालेन)ले सफलताको शुभकामना व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया