एजेन्सी । अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या मंगलबार ४२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
उक्त क्षेत्रमा अझै २ सय २८ जना हराइरहेका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ ।
राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् ।
खोजी कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
डढेलोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको बताइएको छ । भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ ।
डढेलो प्रभावित क्षेत्रका हजारौ व्यक्तिलाई उक्त ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको छ । बिहीबार बिहान सुरु भएको डढेलो प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो ।
डढेलोका कारण अस्पताल, ग्यास स्टेशन, रेष्टुरेन्टलगायत गरी छ हजार ७०० भन्दाबढी भवन क्षतिग्रस्त भएका छन् ।
डढेलो लागेको जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया