काठमाडौं । मोरक्कोले कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा आफ्नो स्थान पक्का बनाएको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो ।
मोरक्को विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो । एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे ।
बदर बेनोनको पेनाल्टी प्रहार स्पेनका गोलकिपर युनाई सिमोनले रोके ।
पेनाल्टीमा स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए ।
सराबियाले पोस्टमा प्रहार गर्दा सोलेर र बुस्केट्सको प्रहार मोरक्कोका गोलकिपर यासिनले रोकेका थिए ।
अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ । स्पेन भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया