ओन्टारियो । क्यानडाको सङ्घीय सरकारले सङ्घर्षरत क्यानडाली सञ्चार उद्योगलाई नयाँ कर छुट र प्रोत्साहन उपलब्ध गराउने बुधवार घोषणा गरेको छ ।
क्यानडाली अर्थमन्त्री बिल मोर्निउले आगामी पाँच वर्षका लागि करिब ६० करोड क्यानेडेली डलरको प्याकेज उपलब्ध गराइने बताए । यो कार्यक्रमको विस्तृत विवरण आगामी वार्षिक बजेटमार्फत सार्वजनिक गरिनेछ ।
यो कर छुट खासगरी समाचार उत्पादनमा लाग्ने श्रमको लागतमा मद्दत गर्न सञ्चार माध्यमलाई उपलब्ध गराइनेछ । डिजिटल समाचारसँग सम्बन्धित पोर्टलका ग्राहकका लागि हाल अस्थायी रुपमा कर छुट दिइएको छ ।
गैर–नाफामूलक सञ्चार संस्थाहरुले पनि यो कार्यक्रममा आवेदन दिन सक्ने बताइएको छ ।
संसदमा सम्बोधन गर्दै अर्थमन्त्री मोर्निउले भन्नुभयो, “हाम्रो लोकतन्त्र र समुदायमा स्वतन्त्र सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण छ र राज्यले त्यसको संरक्षण गर्नु पर्दछ । यही धारणाका आधारमा क्यानडाको पत्रकारितालाई मद्दत गर्ने सोच अघि सारिएको हो ।”
टोरन्टो स्टारका मालिक एवं टार्सटार कर्पोरेशनका अध्यक्ष जोन होन्डेरिकले सरकारको उक्त प्रस्ताव स्वागतयोग्य रहेको बताए ।
विगत १० वर्षको अवधिमा क्यानडामा २५० भन्दा बढी अखबारहरु बन्द भइसकेका छन् भने सन् २०१२ यता अखबारको आम्दानीमा ४० प्रतिशतको हाराहारीमा कमी आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया