इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा एकको मृत्यु

फ्रान्स । फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको टारास्कनका अभियोजनकर्ता प्याट्रिक देशजार्डिनले एएफपीलाई बताए । 

विगत केही समयदेखि पहेंलो पहिरनमा प्रदर्शनमा उत्रिएका सवारीधनीले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै आएका छन् । 

प्रदर्शनकारीले आइतबार १० किलोमिटर लामो सडकखण्डमा यातायात अवरूद्ध गर्ने कार्यक्रम रहेको थियो । 

राष्ट्रपति म्याक्रोँ समस्याको समाधानका लागि आपतकालिन बैठक 

यसैबीच, सरकार विरोधी आन्दोलनमा २ सय ६३ जना घाइते बनेको र सयौँको सङ्ख्यामा नागरिक पक्राउ परेपछि समस्या समाधानका लागि राष्ट्रपति इमानुयल म्याक्रोँ सरकारी अधिकारीसँग आपतकालिन बैठकमा सहभागी भएका छन् । 

अर्जेन्टिनामा भएको जी–ट्वान्टी सम्मेलनमा सहभागी भै आइतबार स्वदेश फर्किएका म्याक्रोँले प्रधानमन्त्री, गृहमन्त्री, तथा उच्च अधिकारीलाई बोलाई समस्याबारे जानकारी लिएको बताइएको छ । “मलाई हिंसा कदापि मान्य हुने छैन, ” अर्जेन्टिनाबाट स्वदेश फर्किनु पहिले आर्क डु ट्रिउम्फमा बताए । 

उनले थपे,“ कुनै पनि कारणले सरकारी अधिकारी, पत्रकार र व्यवसायीमाथिको आक्रमणलाई पुष्टि गर्न सक्दैन ।” 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?