ओटावा । क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्र्युडे माली पुगेर त्यहाँ संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत क्यानाडेली सैनिकसँग भेट तथा परामर्श गरेका छन् ।
उनी शनिबार माली पुगेको बताइएको छ । माली पुगेर उनले त्यहाँ शान्ति मिसनमा खटिरहेका क्यानाडाली सैनिक कार्यरत क्षेत्रमा गई आफ्ना सैनिकसँग वार्ता तथा परामर्श गरेका थिए ।
त्यस क्रममा उनले ती सैनिकसँग अन्तरक्रिया र आवश्यक परामर्श पनि गरेको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री ट्र्युडे मालीमा शनिबार करिब पाँच घन्टा बिताएका थिए । त्यसैगरी त्यस क्रममा उहाँले मालीका राष्ट्रपति सोयुमलेउ बाउबे माइगालाई पनि भेट गरेको समाचारमा जनाइएको छ ।
उनी मालीमा रहँदा शान्ति सुरक्षा कारण उनको भेटघाट र भ्रमण बारेको कुनै पनि समाचार सार्वजनिक नगरिएको क्यानाडेली सरकारले जानकारी दिएको छ ।
प्रधानमन्त्री जस्टिनसँग क्यानाडाका रक्षामन्त्री हरजित सजन र क्यानाडाली सेनाका प्रमुख जोनाथन भेन्स पनि साथमा थिए ।
मालीमा संयुक्त राष्ट्रसंघले शुरु गरेको शान्ति मिसनमा गएको जुन महिनादेखि क्यानाडा पनि सहभागी भएको हो । क्यानाडाले त्यहाँ एकवर्षसम्म आफ्नो सेना पठाउने जानकारी दिएको छ ।
मालीमा क्यानाडाले ८ ओटा हेलिकोप्टरसहित करिब २५० जना सेना पनि उपलब्ध गराएको छ । त्यहाँ अरु देशका पनि शान्ति सैन्य खटेका छन् ।
माली गरिबी, भोकमरी तथा हिंसाका कारण समस्यामा परेको छ । त्यहाँ मुस्लिम अतिवादीहरुका कारण सन् २०१२ देखि गृहयुद्ध जारी छ । जसका कारण हजारौँ नागरिकले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया