आप्रवास सङ्कटः अमेरिकी थुनामा फेरि आठ वर्षीय बालकको मृत्यु

एजेन्सी । संयुक्तराज्य अमेरिकाको प्रहरी थुनामा फेरि ग्वाटेमालाका आठ वर्षीय बालकको मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ । यही महिना अमेरिकी थुनामा बच्चाको मृत्यु भएको यो दोस्रो घटना हो । 

यही डिसेम्बर ८ मा ग्वाटेमालाकी एक आठ वर्षीया बालिका जेकेलिन कालको अमेरिकी प्रहरी थुनामै मृत्यु भएको थियो । 

सीमा सुरक्षा निकायले सोमबार बालक बिरामी भएको थाहा हुनासाथ न्यू मेक्सिको मेडिकल सेन्टरमा उपचारका लागि पठाइएको जनाएको छ । मेक्सिकोबाट अमेरिका प्रवेश गरेका बालक सँगै उनका बाबुलाई प्रहरीले पक्राउ गरेको थियो । 

शुरुमा बच्चालाई चिसो लागेको अनुमान गरिएको थियो, तर पछि जाँच गर्दा ज्वरो आएको पत्ता लागेको थियो । अस्पतालमा बच्चालाई ज्वरो हुँदा खुवाइने इबुप्रोफेन र एमोक्सिसिलिन दिइएको थियो । तर ज्वरो घटेन । बच्चाले पुनः वान्ता गर्नुका साथै रिङ्गटा लागेको अनुभव गरेका थिए । मध्यरातमा ती बालकको मृत्यु भएको थियो । 

ग्वाटेमाला सरकारले बालकको मृत्युका बारेमा विस्तृत अध्ययन गर्न अमेरिकी सरकारसमक्ष आग्रह गरेको छ । बच्चाको मृत्यु भएपश्चात् सामाजिक सञ्जालमा अमेरिकी अधिकारीहरुको चर्को आलोचना भएको छ । 

“अमेरिकी प्रशासनको अघिल्तिर अर्को एक बच्चाको प्राण गएको छ,” टेक्सासबाट डेमोक्राटिक कङ्ग्रेस सदस्य मार्क भेसीले ट्वीट गर्नुभएको छ । “क्रिसमसका दिन यस्तो हृदयविदारक समाचार सुन्नुप-यो ।” 

“यो समाचारले दुःखी र विचलित बनाएको छ,” न्यू मेक्सिकोका सिनेटर मार्टिन हेनरिकले ट्वीटमा भनेका छन् । “यो घटनाका बारेमा विस्तारपूर्वक तत्कालै जानकारी दिइनु पर्दछ, र ट्रम्प प्रशासनलाई बच्चाको मृत्युप्रति जवाफदेही बनाउनै पर्दछ ।” 

यी बालकको मृत्यु त्यस्तो दिन भएको छ जुन दिन यसै महिनाको शुरुमा अमेरिकी थुनामा मृत्यु भएकी ग्वाटेमालाकी बालिका जेकेलिन कालको दाहसंस्कार गरिएको छ । 

ती बालिकाको शव आइतबार ग्वाटेमाला ल्याइएको थियो । लामो यात्रापछि बालिकाको शव दुर्गम गाउँमा पु-याइएको थियो । उनको गाउँमा विद्युत र अरु आधारभूत सुविधा केही उपलब्ध छैनन् । 

“ती बालिका पनि अमेरिकामा सुनौलो सपना साँचेर बाबुआमासँगै अमेरिकातर्फ हिँडेकी थिइन्, तर उनको सपना बाटोमै टुङ्गियो,” स्थानीय गाउँबासी अल्बर्टो पोपले बताए । “तपाइँले सुन्नुभएको होला संयुक्तराज्य अमेरिकामा राम्रै कमाइ हुन्छ, र ग्वाटेमालाका कम्पनीमा जस्तो अमेरिकामा अवश्य हुँदैन । त्यही कारण मानिसहरु अमेरिका जान चाहन्छन्,” पोपले भने । अमेरिकी सपनाको खोजीमा उहाँका २२ वर्षीय छोरा जोकिन नोभेम्बरमा अमेरिकातर्फ लागेका थिए । 

उनले भने, “मेरो छोरो म¥यो कि बाँच्यो मलाई थाहै छैन ।” 

“दुर्भाग्यवस, आप्रवासीमाथि अमेरिकी सरकारले गरेको यस्तो दुव्र्यवहारको मुख्य कारण नै हाम्रो देशमा आर्थिक स्रोतसाधनको चरम अभाव हो,” जेकेलिनको दाहसंस्कारमा उपस्थित मारियो कालले भने । 

जेकेलिन कालको डिसेम्बर ८ मा भएको मृत्युले अमेरिकी समाजमा ठूलो बहस सिर्जना गरेको थियो । खासगरी अमेरिकी आप्रवासी नीति र आप्रवासीमाथि अमेरिकी सरकारले गरेको व्यवहारलाई लिएर अमेरिकी राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ । 

ग्वाटेमाला, होन्डुरस, मेक्सिको समेतका मध्य अमेरिकी देशहरुबाट ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेशका लागि हाल संयुक्तराज्य अमेरिका र मेक्सिको सीमामा धर्नामा बसेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?