मन्त्रालय मिलाउन गठबन्धनमा सकस : कुन दलबाट को–को छन् मन्त्रीको आकांक्षी ?

काठमाडौं । सोमबार प्रधानमन्त्रीले विश्वासको मत पाएसँगै मन्त्रिमण्डल विस्तारका लागि सत्ता साझेदार दलहरु जुटेका छन् ।

१० दलको सहभागिता रहेको वर्तमान गठबन्धन दलका सांसदहरु मन्त्री बन्ने दौडमा देखिएका छन् । आफैँ सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, संसदकै ठूलो दल नेपाली कांग्रेस, गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र गठबन्धनको चौथो ठूलो शक्ति एकीकृत समाजवादी लगायत अन्य दलका सांसदहरु मन्त्री बन्ने दौडधुपमा देखिएका छन् ।

गत निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस पुस १० गते माओवादीले धोका दिएपछि प्रतिपक्षी बनेको थियो । अहिले सत्ता राजनीति उलटपुलट भएसँगै पुनः राष्ट्रपतिसहित सत्तामा आाइपुगेको छ । प्रतिपक्षमा हुँदा त सरकारलाई विश्वासको मत दिएको कांग्रेस माओवादीले एमालेलाई धोका दिएसँगै सत्ताको मुख्य सारथी बनिरहेको छ । ठूलो दलको हिसाबले पनि कांग्रेसको दाबी धेरै मन्त्रालयमा छ ।

कांग्रेसले हाल १० वटा मन्त्रालय दाबी गरेको छ । पार्टीले धेरै मन्त्रालय पाउने भएसँगै सांसदहरु मन्त्री बन्ने होडमा सभापति शेरबहादुर देउवा निवास धुम्बाराही धाउन थालेका छन् । वर्तमान प्रधानमन्त्रीको कार्यकाल सकिएपछि देउवा नै प्रधानमन्त्री बन्ने भए पनि बद्लिँदो राजनीतिका बीच अहिले नै मन्त्री बन्न मरिहत्य गरिरहेका छन् । जसको कारण सांसदहरु यो वा त्यो बहानामा अहिले देउवा निवास धाइरहेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका एक सांसदले लोकपथलाई दिएको जानकारी अनुसार मन्त्री बन्न लालायित बन्दै देउवासँग लबिङ गर्नेहरुको लिस्ट ठूलै छ ।

ती सांसदका अनुसार हालसम्म देउवापत्नी समेत रहेकी सांसद डा. आरजु राणा देउवा, सहमहामन्त्री किशोरसिंह राठौर, प्रवक्ता प्रकाशशरण महत, वीरबहादुर बलायर, प्रदीप पौडेल, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, मोहनबहादुर बस्नेत, शंकर भण्डारी, दिनेश यादव, जितेन्द्र देव, मोहन आचार्य, सीता गुरुङलगायत मन्त्री बन्ने तयारीमा रहेका छन् । यता बिमलेन्द्र निधि, प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो नेतृत्वमा सरकारमा जानका लागि लबिङ गरिरहेका छन् ।

मन्त्री बन्ने नेताहरुको लामो फेहरिस्त आउने चाल पाएका देउवाले यसअघि नै भूगोलका आधारमा मन्त्री बनाउने बताइसकेका छन् । तैपनि नेताहरुले आ–आफ्नो दाबीसहित देउवा निवास धाइरहेका छन् ।

‘कांग्रेसबाट हाल १० वटा मन्त्रालयको दाबी रहेको छ । अन्य दलको तुलनामा हामीले पाउने मन्त्रालयको संख्या धेरै भएका कारण पनि धेरै नेताहरुको दाबी रहनु स्वभाविक पनि हो,’ कांग्रेसका एक सांसदले लोकपथलाई जानकारी दिए ।

सांसदहरुले आ–आफ्नो मन्त्री बन्ने इच्छा देखाए पनि कुन मन्त्रालय हो भन्ने खुलाएका छैनन् । तर, कांग्रेसका कतिपय शीर्ष नेताहरुका अनुसार अहिलेको अवस्थामा कांग्रेसले अर्थ मन्त्रालय लिएर अर्थतन्त्र सुधार गर्नुपर्ने जिकिर गर्छन् ।

यसअघि नै कांग्रेसले मन्त्री बन्नका लागि विभिन्न ४ वटा मापदण्ड बनाएको छ ।

यता सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट हाल रहेको मन्त्रीहरु नै कायम राख्ने माओवादी केन्द्रको तयारी रहेको छ । केही समयपछि पालोफेरो गर्ने भए पनि अहिलेको अवस्थामा रहेको मन्त्रीहरुलाई नै यथावत राख्ने माओवादी केन्द्रको तयारी छ ।

यता गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारमा जाने इच्छा देखाएको छ । एक सांसदले लोकपथलाई दिएको जानकारी अनुसार यसअघि नै सरकारमा सामेल भएकाहरुलाई पठाउनेगरी गृहकार्य भइरहेको छ । तर यसअघि नै गृहमन्त्री पाइसकेको आधारमा पुनः गृहमन्त्री दाबी गरे पनि त्यो पाउनेमा रास्वपाका सांसद स्वय नै विश्वस्त देखिँदैनन् ।

यसअघि उपप्रधान एवं गृहसहित शिक्षा, श्रम तथा वैदेशिक रोजगार र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रास्वपाले पाएको थियो । सरकारमा जाने विषयमा आन्तरिक छलफल भइरहेको बताउँदै ती सांसदले भने, ‘हामी छलफलमा छौँ । सरकारमा जाने विषयमा अनौपचाकि छलफल भइरहेको छ,’ उनले भने, ‘छलफल भएसम्म विशेष परिस्थितीमा हामी सरकारबाट बाहिरिएका थियाैँ । हामी सोही मन्त्रालयको जिम्मेवारी सम्हालेर परिणामुखी काम गर्न चाहन्छौँ ।’

फेरि गृहमन्त्रीमा तपाईंहरुको अडान रहन्छ ? भन्ने लोकपथको प्रश्नमा ति सांसद भन्छन्, ‘गृहमा हाम्रो दाबी रहन्छ । तर अहिलेको अवस्थामा हामीले त्यो पाउने सम्भावना देखिँदैन ।’

यता गठबन्धनको चौथो ठूलो दल एकीकृत समाजवादी गृहसहित रोजेको मन्त्रालय चाहिने दाबी गरिरहेको छ । गठबन्धनमा आवद्ध अन्य दलले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसहित संवैधानिक पदमा रहेका कारण आफूहरुले रोजेको मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा लोकपथसँग बताउँछन् ।

‘गृहसहित रोजेको मन्त्रालयमा हाम्रो दाबी रहन्छ । गठबन्धनका अन्य दलबाट राष्ट्रपति, प्रधानमन्त्रीसहित संवैधानिक पदहरुमा भागबण्डा भएको छ,’ उनले भने, ‘अरु दललाई हामीले सहयोग गरेका छौँ, जसको कारण पनि अब हामीले रोजेको मन्त्रालय पाउनुपर्छ भन्नु जायज नै हो ।’

यता उपराष्ट्रपति पाएको जसपा पनि तीन मन्त्रालयसहित सरकारमा जाने तयारीमा जुटेको छ । मन्त्री टुंगो लगाउने अधिकार जसपाले अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । सरकारमा सामेल हुनेबारे छलफल भइरहेको जसपा सांसद प्रदीप यादवले लोकपथलाई जानकारी दिए । उनका अनुसार हाल जसपाले तीन मन्त्रालय दाबी गर्ने र आफू पनि आकांक्षी रहेकोसमेत बताए ।

‘हाम्रो पार्टीबाट तीन मन्त्रीमा दाबी रहन्छ । म पनि सांसद भएको हिसावले मेरो पनि दाबी रहनु स्वभाविक हो,’ यादवले भने, ‘हामी छलफलकै क्रममा छाैँ । कुन–कुन मन्त्रालय भन्ने विषय केही दिनमा टुंगो लाग्ला ।’

यी सहित अन्य दलका सांसदहरुको पनि मन्त्री बन्ने इच्छा देखाइरहेका छन् । लोसपा, नागरिक उन्मुक्ति, जनमत, आम जनता पार्टीले पनि मन्त्रायलको दाबी गरिरहेका छन् । जसकारण मन्त्रालयको भागबण्डा मिलाउन प्रधानमन्त्रीलाई हम्मे–हम्मे पर्ने देखिन्छ ।

यसअघि नै प्रधानमन्त्री र कांग्रेस सभापति देउवाले मन्त्रालयको भागबण्डा कसरी मिलाउने भन्ने विषयमा छलफल गरिसकेका छन् । प्रचण्ड र देउवाले मन्त्री बन्न धेरैको आकांक्षा देखाए पनि भूगोलको आधारमा मन्त्री बनाउनेबारे छलफल गरेका छन् । आज सोही विषयमा छलफल गर्न गठबन्धन दलको बैठक समेत बोलाइएको छ । आज सहमति जुटेमा केही दिनमै मन्त्रिमण्डलले पूर्णता पाउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?