काठमाडौं । आरोही धामी ६ वर्षकी भइ । ऊ नाच्छे, गाउँछे, हाँस्छे, खेल्छे, उफ्रिन्छे । तर, सधैं पुतलीजस्तै फुर्फुराउने आरोहीको मुहारमा ९ बज्नासाथ कालो बादल मडारिन्छ । आमाले मुखैमा हालिदिएको खाना ‘थु’ गर्दै थुक्छे, पिलपिल आँसु झार्दै भन्छे ‘नाइ म स्कुल जान्न ।’
पुरानो बानेश्वरस्थित भीमसेनगोलाको कमलनेत्र छुन्ना मुन्ना इंगलिस स्कुलको यूकेजीमा पढ्ने आरोहीलाई ड्रेस लगाइदिएर स्कुल पु-याउन हम्मेहम्मे पर्छ उसकी आमालाई । उसलाई स्कुलप्रति यति धेरै वितृष्णा छ कि स्कुल नजाने कैयन् ‘रेडिमेड’ बहाना उसको मस्तिष्कमा तयारी अवस्थामै छन् । आरोहीको यस्तो व्यवहारदेखि आजित भइसकेकी उसकी ममी भन्छिन्, ‘स्कुललाई त राक्षस जतिकै मान्छे खै किन हो ?’
आरोहीकी ममी मात्र नभएर अधिकांश अभिभावकहरुको यही गुनासो छ आजभोलि । अहिलेसम्म खेलिरहेका, हाँसिरहेका केटाकेटी स्कुल जानेबला हुनासाथ कहालिन्छन्, एकाएक बिरामी पर्छन्/परेको नाटक गर्छन् । पाँचतारे होटल जस्तै सुविधासम्पन्न स्कुलले समेत विद्यार्थीहरुमा पढाइप्रतिको रुचिलाई उजागर गर्न सकिरहेको छैन ।
‘गुरु’कुल भर्सेस ‘स्’कुल
इतिहासलाई फर्केर हेर्दा ‘गुरु, शिष्य र शिक्षा’को सम्बन्धलाई गाँस्ने गुरुकुल अहिलेका स्कुलभन्दा निकै खुसी देखिन्छ ।
गुरुकुल प्रकृतिको बीचमा छ । त्यहाँ सीमित विद्यार्थी छन् जो उमेर र सोच दुवैले परिपक्व छन् । त्यहाँका गुरुले आफ्ना शिष्यहरुको नाम र काम दुवै राम्ररी चिनेका र बुझेका छन् । शिष्यहरुलाई संस्कृतका श्लोक रटाउने मात्र नभएर स्वालम्बी बनाउनलाई आफ्नो र गुरुको खानाको जोहो खुद गर्न सिकाइन्छ । आफ्नो रुचि अनुसारको शास्त्र र शस्त्र दुवैको ज्ञान दिइन्छ । धनुष चलाउनेले भाला चलाउन नमान्दा कुनै सजाय दिइदैन । गदा र भाला दुवै सिक्छु भन्दा पनि कुनै प्रतिबन्ध छैन ।
गुरुकुलमा कम्प्युटर छैन । स्वीमिङ पुल र क्यान्टिन छैनन् । स्वतन्त्रता छ । ज्ञान र सीप छ ।
यसरी शुरु भएको शिक्षण पद्धतिले ‘डिजिटल सिकाइको’ युगसम्म आइपुग्दा आफ्नो रुप फेरेको छ । गुरुकुलले दिन नसकेको सबैथोक दिइरहेका छन् आजकलका स्कुलहरुले । यद्यपी, विद्यार्थीहरुमा पढाइको भोक जगाउन स्कुल कहीँ न कहीँ चुकिरहेको अवस्था छ ।
आखिर स्कुल जाने कुराले किन उत्साहित बनाउन सकिरहेको छैन विद्यार्थीलाई ? सिकाइको नाममा विद्यार्थीलाई आवश्यकता भन्दा बढी प्रेसर दिइरहेको छ स्कुलले ? विद्यालाई व्यापार बनाइएकै हो त ? त्रुटि कसको ? स्कुल, विद्यार्थी या अभिभावक ? यस्ता निरुत्तरित प्रश्नहरुको चाङले यस विषयमा गहन शैक्षिक बहसको आवश्यकता भएको दर्साउँछ ।
शिक्षक भर्सेस मनोविद्
विद्यार्थीहरु स्कुल जान निरुत्साहित हुनुमा शैक्षिक प्रणाली दोषी हो ? भन्ने प्रश्नमा शिक्षक र मनोविद्को मत भाँजिएको छ । मनोविद भन्छन् ‘हो’ । शिक्षक यसलाई स्वीकार्न तयार छैनन् ।
हाम्रो शिक्षा ‘परिणाममुखी’ भन्दा पनि ‘परिमाणमुखी’ बन्दै गएको मनोविश्लेषक बासु आचार्यको आरोप छ ।
हुन पनि विद्यार्थीहरु ‘ए फर एप्पल’ भन्न त जान्दछन् तर, ‘एप्पल’को अर्थ र उपयोगिता के हो भन्ने प्रश्नमा टाउको कन्याउन थाल्छन् । त्यसैले किताबकापीका चाङ लगाइदिएर मात्र बालबालिका जान्ने हुने होइनन् भन्ने उनको भनाइ हो ।
‘स्कुलको काम भनेकै सिकाउने हो, उनी थप्छन्, ‘तर हरेक विद्यार्थीको सिक्ने तरिका वेग्लावेग्लै हुन्छ भनेर बुझ्न जरुरी छ ।’ त्यसैले भिन्न प्रवृत्तिका विद्यार्थी तर कक्षा एउटै, भिन्न रुचि तर, सिकाइ एउटै हुनुले ठूलो समस्या खडा गरेको मनोविश्लेषक आचार्यको ठम्याइ छ ।
मनोविद्हरु जेलाई ‘भार’को संज्ञा दिइरहेका छन् शिक्षकहरु त्यसैलाई अहिलेको ‘आवश्यकता’ मान्छन् ।
कमलनेत्र छुन्नामुन्ना स्कुलका प्रधानाध्यापक ज्ञानेन्द्र भट्टराईका अनुसार कुट्न, तर्साउन, शारीरिक र मानसिक सजाय दिन उचित नभएपनि आवश्यकता अनुसारको कडाइ गर्नैपर्छ । धेरैवटा विषय पढाइ हुनुलाई उनी सकारात्मक तरिकाले हेर्छन् ।
‘प्रतिस्पर्धाको जमाना छ यसरी पढाएन भने त हाम्रा विद्यार्थीहरु पछि पर्न सक्छन्’, भट्टराई थप्छन्, ‘अहिलेको जमनामा उनीहरुले अमेरिकन, यूरोपियन विद्यार्थीहरुसँग भिड्नुपर्ने हु्न्छ अलिकति कडाइ त गर्नैप-यो नि’।
फेरि, शिक्षकहरुको यो सोच अचकल्टो भएको मनोविश्लेषकको ठहर छ । मनोविश्लेषक आचार्य भन्छन्, ‘शैक्षिक प्रणाली अमेरिका, यूरोपजस्तो चाहानु तब मात्र जायज हुन्छ जब देशका अन्य क्षेत्र पनि उसैगरी मौलाएका हुन् ।’
गलत शैक्षिक प्रणलीका अतिरिक्त स्कुल र घरको वातावरणमा पाइने भिन्नताले पनि बालबालिकाहरुलाई स्कुल जानबाट निरुत्साहित गरेको अर्की मनोविश्लेषक करुणा कुँवरले बताइन् । ‘घरमा बालबालिका स्वतन्त्र महसुस गर्छन्, सबैको लाडप्यार पाउँछन्, आफ्नो हिसाबले खेल्नकुद्न पाउँछन्’, कुँवर थप्छिन्, ‘तर, स्कुलमा आवश्यकता भन्दा बढी कडाइ गरिन्छ, त्यहाँ उनीहरु एक्लो महसुस गर्छन् ।’
घर नै पहिलो स्कुल, आमा नै पहिलो शिक्षक : शिक्षाविद् डा. विद्यानाथ कोइराला
पुस ९, कलैया उपमहानगरपालिका–१
नमुना निमाविमा अध्ययनरत १३ वर्षीय अजयकुमारलाई उनका शिक्षक सोनालाल यादवले यतिसम्म निर्मम तरिकाले पिटे कि अजयको उपचारकै क्रममा मृत्यु भयो ।
विद्यार्थीलाई नकुटी पढाउनुपर्ने नियम बनिएतापनि त्यसलाई लागू गर्न विद्यालयहरु चुकेको जस्तो देखिन्छ । यसकै नतिजा हो, विद्यार्थीलाई कुटेर बेहोस बनाएको, शरीरभरि नीलडाम बसाएको घटनाहरु बेलाबेला समाचारमा आइरहनु ।
‘शैक्षिक संस्था जेल होइन सिकाइ गर्ने ठाउँ हो,’ शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘सम्बन्धित निकायले यो बुझ्न जरुरी छ कि समयअनुसार शिक्षण शैली परिवर्तन हुनैपर्छ’ ।
डा. कोइरालाका अनुसार घोकेर कण्ठ गर्नु हाम्रो कला हो । तर, त्यही कण्ठ गरेका कुराहरु व्यवहारिक जीवनमा लागू गर्न नसक्नु हाम्रो कमजोरी । ‘शिक्षक र अभिभावक दुवै पक्ष बालबालिकालाई यी कुरा बुझाउनबाट चुकेको जस्तो देखिन्छ’, उनी अगाडि थप्छन्, ‘आमा नै पहिलो गुरु भएकाले उनले विशेष भूमिका खेल्न सक्नुपर्छ’ ।
मनोविश्लेषक र शिक्षाविद् भन्छन्, यसो गर्न सकिन्छ :
नेपाली समाजमा प्राय अभिभावक अशिक्षित छन् या त व्यस्त छन् । यी दुवै अवस्थामा अभिभावकहरुको समान सोच के हुन्छ भने, ‘छोराछोरीलाई महंगो स्कुलमा भर्ना गरिदिएपछि उनीहरुसँग सम्बन्धित सबै जिम्मेवारीबाट मुक्त भइन्छ’ । यता उचित शैक्षिक नीतिको अभावमा स्कुलहरुले पनि मनमानी ढङ्गले सिकाइलाई व्यापार बनाइरहेका छन् ।
यस्तो अवस्थामा बालबालिकामा कसरी पढाइप्रति अभिरुचि बढाउन सकिन्छ ? यसो भन्छन् मनोविश्लेषक र शिक्षाविद् :
– आमा पहिलो शिक्षिका हुन् । त्यसैले उनले घरको कामधन्दा गर्दैगर्दा होस् या कामबाट फर्किसकेपछिको समयमा होस् छोराछोरीलाई होमवर्क गर्न मद्दत गर्ने, उनीहरुको दिन कस्तो रह्यो भनेर जान्न चाहने, गुनासो सुन्ने गर्नुपर्छ ।
– स्कुलप्रति बालबालिकाको मस्तिष्कमा भएको नकारात्मक छविलाई परिवर्तन गर्न अभिभावकले विशेष भूमिका खेल्ने ।
– स्कुलले पनि सिर्जनात्मक शिक्षण शैली अपनाएर पारिवारिक वातावरणमा सिकाउने, पढाउने ।
– विद्यार्थीलाई उसको रुचिअनुसारको विषय पढ्न र क्रियाकलापमा संलग्न हुन प्रेरणा दिने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया