काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा नै आयोजना गर्न माग गरेको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजरमा राख्दै प्रदेश नम्बर ५ को स्थलगत भ्रमणमा निस्किएको संघले उक्त कुरा सरकार समक्ष राखेको हो ।
खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठका अनुसार राष्ट्रिय प्रतियोगिता यसै वर्ष आयोजना गर्न माग गरेको बताए । ‘राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अझै लम्बिने देखिएको छ, पहिले पनि पटक-पटक या प्रतियोगिताको मिति सर्दै आइरहेको छ, अब प्रतियोगिताको मिति नसार्न हाम्रो सरकार र सम्बन्धित निकायसँग अनुरोध छ’, उनले लोकपथलाई भने ।
अध्यक्ष श्रेष्ठले भने, ‘उद्घाटन गर्ने रंगशालाको ९५ प्रतिशत काम पूरा भएको देखिएको छ, भीआईपी प्याराफिटको केही काम सकिन र फिनिसिङको मात्र काम बाँकी रहेको छ ।’
‘भौतिक पूर्वाधारको कामलाई देखाएर अब प्रतियोगिताको मिति सार्न पाइदैन, तोकिएको समयमा प्रतियोगिता आयोजना नहुँदा खेलाडीहरुलाई मानसिक तनाव बढ्न सक्छ’, उनले थपे ।
खेलस्थल निरिक्षण गर्न खेलाडी संघका पूर्व अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक दिपक विष्ट, जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य रहेका छन् । उनीहरुले नेपालगञ्जको बाँकेमा रहेको विभिन्न स्थानको रहेको मैदानको अवलोकन गरेको थियो ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यहि फागुनमा आयोजना गर्ने भनिएपनि निश्चित समय भने तोक्न सकेको छैन । राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजरमा राख्दै हाल विभिन्न जिल्लामा खेलाडी छनोट प्रतियोगिता पनि भइरहेको छ ।
लगभग अन्तिम चरणमा पुगिसकेको यो प्रतियोगिता समयमा नै आयोजना नहुँदा खेलाडीहरुको मनोबल घट्नुका साथै मानसिक तनाव पनि बढ्न सक्छ । त्यसैले सम्बन्धित निकायले यसतर्फ बेलैमा ध्यान दिन जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया