‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’: रोहित बने वर्षको उदयमान क्रिकेट खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी रोहित कुमार पौडेल वर्षको उदयमान क्रिकेट खेलाडी घोषित भएका छन् ।

क्रिकेट खेलाडी संघ नेपाल ‘सिप्यान’को आयोजनामा भएको ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’मा उनी वर्षको उदयमान खेलाडी घोषित भएका हुन् । उनीले अविनाश बोहरा, कविता कुँवर, ललित नारायण राजवंशी र सन्दीप जोरालाई पछि पार्दै सो अवार्ड हात पारेका हुन् ।

यो अवार्डसँगै उनले नगद ६६ हजार रुपैयाँ पनि प्राप्त गरेका छन् । १६ वर्षे युवा क्रिकेटर रोहितले युएईविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी समेत हुन् ।

उनीले युएईविरुद्धको एकदिवसीय  र टी-ट्वान्टी क्रिकेट सिरिजमा कीर्तिमानी खेल प्रदर्शन गरेका थिए । उनले युएईसँगको खेलकै क्रममा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडीको नयाँ विश्व कीर्तिमान समेत बनाएका थिए । 

उनले उक्त खेलमा ५५ रन जोड्दै भारतका कीर्तिमानी खेलाडी सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको कीर्तिमान समेत तोडेका थिए । 

त्यस्तै वर्षको उत्कृष्ट महिला क्रिकेटको उपाधि भने सिता रानामगरले जितेकी छिन । उनले मनोनयनमा परेका इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री र सरिता मगरलाई पछि पारेकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?