इथियोपियन एयरलाइन्स दुर्घटना [अपडेट]: विमानमा सवार एक सय ५७ को मृत्यु

एजेन्सी । इथियोपियामा विमान दुर्घटनामा एक सय ५७ जनाको मृत्यु भएको छ । 

इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको र  त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र आठजना चालक दलका सदस्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ । बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन ।

इथियोपियाको सरकारी सञ्चार माध्यम इथियोपियन ब्रोडकास्टिङ कर्पोरेसनले विमानमा कोही पनि जीवित नरहेको बताएको उल्लेख गरेको छ ।

प्रत्यक्षदर्शीले विमान जमिनमा ठोक्किएर ठूलो आवाज आएको र चर्को आगो बलेको बीबीसीसँग बताएका छन् । 

दुर्घटना राजधानीदेखि ६० किलोमिटर दक्षिण पूर्वी क्षेत्र बिसोफ्टु नजिक भएको इथियोपिष्न एयरलाइन्सले उल्लेख गरेको छ ।

इथियोपियनका प्रधानमन्त्री अबी अहमदले ट्विटरमार्फत आफ्नो गहिरो संवेदना व्यक्त गरेका छन् भने दुर्घटनाको पहिलो सूचना इथियोपियाका प्रधानमन्त्रीले दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?