राष्ट्रियसभा बैठक : खेलकूद विधेयक प्रस्ताव स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आज ‘बुधवार’ को बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक,२०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । 

बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेको थियो । सो विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री विकले स्वच्छ र अनुशासित खेलाडी उत्पादन गरी देशको गरिमालाई अन्तरराष्ट्रियस्तरमा पु-याउन राष्ट्र तथा खेलक्षेत्रको हितका लागि सो विधेयक ल्याइएको बताए । 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नागरिक लगानी कोष ‘दोस्रो संशोधन’ विधेयक २०७५, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लेखा परीक्षण विधेयक २०७५ सम्बन्धी समितिका प्रतिवेदन सभामा प्रस्तुत गरे । 

त्यसैगरी राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विशेष आर्थिक क्षेत्र ‘पहिलो संशोधन’ विधेयक, २०७५’ र भूउपयोग विधेयक, २०७५ लाई टेबुल गरे । राष्ट्रियसभाको अर्को बैठक यही फागुन ३० गते अपराह्न १ बजे बस्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?