काठमाडौं । कुवेतविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बराबरी खेलेको छ ।
अल शाहबब रंगशालामा बिहीवार राति सम्पन्न भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको हो । फिफा वरियतामा ३ स्थान माथि रहेको कुवेतलाई दवावमा राखेपनि नेपालले गोल गर्न सकेन ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिमले केही गोल गर्ने मौका पाएपनि गोल गर्न भने सकेको थिएन । दोस्रो हाफको ६६ औँ मिनेटमा कुवेतले पेनाल्टी हान्ने मौका पायो । सो अवसरलाई कुवेतका कप्तान बाडेर अल मुतवाको प्रहार गोलपोष्ट माथिबाट बाहिरिएको थियो ।
कुवेतलाई बराबरीमा रोक्न गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेका थिए । कुवेतले पटक-पटक गरेको आक्रमण किरणले उत्कृष्ट बचाउँ गरे ।
कुवेतविरुद्धको खेलमा नेपालका पाँच खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु समेत गरे । मुख्य प्रशिक्षक योहान कालिनले अजितभण्डारीसँगै बिमल राना, सुरज बिश्वकर्मा, रबी पासवान र सन्तोष तामाङले सिनियर टिमा डेब्यु गरेका थिए ।
योसँगै नेपालले १९ वर्षपछि कुवेतसँग बराबरी खेलेको हो । यसअघि सन् २००० मा सम्पन्न एएफसी एशिया कपमा नेपालले कुवेतसँग खेल खेलेको थियो । त्यतिबेला नेपाल कुवेतसँग ५-० को भारी गोल अन्तरले पराजित भएको थियो ।
अब आगामी मंगलवार नेपालले कुवेतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया