विराटनगर । भारतले पाँचौ संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
विराटनगरस्थित शहिद रगंशालामा शुक्रवार भएको फाइनल खेलमा भारतले नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । साफ च्याम्पियनसिपमा भारतले जितेको यो पाँचौ उपाधि हो । साफको उपाधि जित्ने लक्ष्य राखेको नेपालको सपना भारतीय खेलाडीले चकनाचुर बनाइ दिएको छ ।
खेलको १६ औँ मिनेटमा भारतिय खेलाडीले प्रहार गरेको बल नेपालका गोलरक्षक अञ्जली सुब्बाले उत्कृष्ट बचाउ गरिन् । त्यस्तै १९ औँ मिनेटमा नेपालका साबित्रा भण्डारी ‘साम्बा’ वान भर्सेस वानमा गोल गर्न चुकिन् । २३ औँ मिनेटमा पनि ‘साम्बा’ गोल गर्न असफल भइन् । उनको प्रहार भारतिय गोलरक्षकले सहजै आफ्नो नियन्त्रणमा लिइन् ।
२६ औँ मिनेटमा भारतका डालिमा चिबेरले फ्रि-किकमार्फत गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् । भारतले गोल गरेपनि निक्कै आक्रामक बनेको नेपालले खेलको ३३ औँ मिनेटमा बराबरी गोल फर्कायो । ‘साम्बा’ले हेडमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउन सफल भइन् ।
त्यस्तै ४० औँ मिनेटमा साम्बा पुनः गोल गर्न चुकिन । पहिलो हाफ सकिनै लाग्दा साम्बाले गरेको प्रहार रिबाउन्ड भएको थियो । उक्त रिबाउन्ड बललाई कप्तान निरु थापाले सदुपयोग गर्न सकिनन् । पहिलो हाफको थपिएको समयमा अनिता बस्नेतको प्रहार आकासियो ।
खेलको पहिलो हाफसम्म एक-एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने फितलो प्रर्दशन गरेको थियो ।
खेलको ५९ औँ मिनेटमा भारतिय खेलाडीको प्रहार नेपालका डिफेन्डर हिरा कुमारी भुजेलले क्लियर गरिन् । खेलको ६३ औँ मिनेटमा भारतले खेलमा २-१ को अग्रता लियो । भारतका ग्रिस डाङमेईले नेपाली टिमको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरिन् ।
७७ औँ मिनेटमा भारतका लागि अन्जु तामाङले गोल गर्दै टिमलाई तीन-एकको स्थानमा पु-याइन् । ८२ औँ मिनेटमा नेपालकी साम्बाको उत्कृष्ट प्रहार भारतीय गोलकिपरले बचाउँ गरिन् । इन्जुरी समयमा साम्बाले फ्रि-किकमार्फत प्रहार गरेको बलले सहि दिशा दिन सकेनन् ।
समूह चरणमा भुटान र बंगलादेशलाई तथा सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । फाइनल खेल हेर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट, प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, ओलम्पियन दिपक विष्ट र संगिना वैध उपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया