निर्माणले जिते स्नुकरको उपाधि

काठमाडौं । काभ्रेका निर्माण बोगटीले प्रथम साकुरा राष्ट्रिय स्नुकरप्रतियोगिताको उपाधि जितेका छन् । 

जमलस्थित आयोजक साकुरा स्नुकर क्लबमा शनिवार भएको ‘बेस्ट अफ इलाभेन’ को फाइनलमा निर्माणले तनहुँका अमिर श्रेष्ठलाई ६–३ को फ्रेममा पराजित गर्दै उपाधि आफुनो पक्षमा पारे । 

घरेलु स्नुकरमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा निर्माणले अमिरलाई ६४–५३, ५२–६४, १११–२३, ११६–३७, १२४–१२, २–११३, ३४–५८, ८४–३४ र १०८–३० को प्रदर्शन गरे । करिब २० वर्षको करियरमा निर्माणको समग्रमा १७ औँ  उपाधि हो ।

राष्ट्रिय स्तरको प्रतियोगितामा भने ३६ वर्षीय निर्माण पहिलो पटक च्याम्पियन बनेका हुन् । यो सहित निर्माणले तीन राष्ट्रिय स्तरका प्रतियोगिता खेलेका छन् । अमिरको भने ७ वर्षको खेल जीवनमा यो नै पहिलो प्रतियोगिता हो ।

उपाधिसँगै निर्माणले १ लाख १० हजार नगद पुरस्कार हात पारे भने अमिरले ४० हजार नगदमा चित्त बुझाए । निर्माणले अर्को उपाधिका रुपमा सर्वाधिक ब्रेककर्ताको उपाधि पनि चुमे । उनले ९३ को ब्रेक गरेका थिए ।

सुनसरीका सञ्जय वज्राचार्य उत्कृष्ट खेलाडी घोषित भए । १६ वर्षीय मोरङका आयुश गौतम सहभागी मध्ये कान्छा खेलाडी भए ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका अध्यक्ष चारपटकका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

स्नुकर संघको मख्य सहयोगमा फागुन २९ गतेदेखि सुरु प्रतियोगितामा १ सय २८ खेलाडीले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा फरक क्षमता भएका २ खेलाडीलाई दर्ता शुल्क नलिइ प्रतिस्पर्धा गर्ने अवसर पनि प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?