धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान् खेलाडीको स्थायी जीविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन् ।
जनकपुरधाममा सोमवारदेखि शुरु भएको तेस्रो शहिद कप क्रिकेट प्रतियोगिताको उद्घाटनमा मुख्यमन्त्री राउतले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
विश्वको अन्य मुलुकमा खेलाडीलाई विभिन्न निकायमा जागिर दिने गरिए जस्तै प्रदेश नं २ को सरकारले समेत प्रादेशिक संरचनाभित्र क्षमतावान् खेलाडीलाई विशेष स्थान दिने बताए ।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश नं खेलाडीको उर्बर भूमि रहेको उल्लेख गर्दै खेलाडीलाई उजागर गर्न प्रदेश सरकार हर संभव प्रयास गर्ने बताए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले खेलकूद असल र अनुशासित नागरिक निर्माण गर्ने मूल स्रोत रहेकाले क्षमतावान् खेलाडी पहिचान गर्न वडास्तरबाटै प्रतियोगिता गराउने क्यालेण्डर निर्माण गरेर प्रदेश सरकार अघि बढ्ने उल्लेख गरे ।
प्रतियोगिताको उद्घाटन सत्रमा शहीद सञ्जय चौधरी, नितु यादव, दिलीप यादव, रोहन चौधरीसहितको परिवारलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाई सम्मान गरेका थिए । यही चैत १९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाडौं तथा भारतबाट पटना, दरभङ्गा र कानपुर गरी जम्मा आठ टोली सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया