ढुङ्गाको कापबाट उम्रिएको ‘रुपक’

काठमाडौं । एक दिन अभिभावक नहुँदा तपाईंको दैनिकी कस्तो हुन्छ ? त्यो हामी सबै जनाले अनुभव गरिसकेका छन् ।

घर सफा गर्नेदेखि आफैँ खाना पकाउने तथा भाडा माझ्ने काम गर्नुपर्छ । एक दिन मात्र अभिभावक घरमा नहुँदा हामीले कैयौं समस्याहरु झेल्नु पर्दा दिक्दारी पनि लाग्न सक्छ । तर, एक चोटी सोच्नुस्, त अभिभावक नहुँदा दैनिकी चलाउन कति गाह्रो हुँदो रहेछ । 

अभिभावक गुमाउनुको पिडा त झन् हामी कल्पना पनि गर्न सकिदैन् । तर, पोखराका फुल कन्ट्राक खेलाडी रुपक नेपालीको लागि यो सबै कुरा सामान्य लाग्छ । सामान्य परिवारमा जन्मिएका रुपकले बुवाआमा बितेपछि घर सम्हाल्नेदेखि बहिनीलाई पढाउने जिम्मेवारी आफ्नो काधमा बोक्दै आइरहेका छन् । ज्याला मजदुरीका काम गरे पनि उनका बुवाआमाले उनलाई राष्ट्रिय कराँते खेलाडी भने बनाए । 

रुपक अहिले नेपालगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा छन् । घरायसी बोझ र आर्थिक संकटलाई कुनातिर बिसाएर उनी आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ अगाडि बढि रहेका छन् । 

उनले लोकपथलाई भने, ‘मेरो आफ्नो पदक रक्षा गर्ने उपाधि छ, सातौँ खेलकुदभन्दा अझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य समेत रहेको छ, त्यही अनुरुप अहिले मैले दैनिक प्रशिक्षण गरिरहेको छु, आफ्नो कमिकमजोरीलाई अझै सुधार पनि गर्दै लानेछु ।’ 

 

२३ वर्षे खेलाडी रुपकले २ वर्षअघि पूर्वाअञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पदकधारी खेलाडी समेत हुन् । तर, आर्थिक अभावबाट गुज्रिरहेका उनी प्रशिक्षण पश्चात पौष्टिक खानेकुरा खान नपाउँदा दुःखी समेत छन् । 

‘मैले सधै सामान्य खानाको भरमा नै प्रशिक्षण गरिरहेको छु, म सँग पौष्टिक खानेकुरा खाने समेत पैसा छैन, मेरो पनि बुवाआमा भएको भए आज यतिसम्म दुःख पाउने थिएन् होला’ उनले मन खिन्न पार्दै भने । 

‘बुवा आमा बितेपछि बहिनीहरुलाई पनि पढाउनै प-यो, घरभाडा तिर्नेदेखि सामान्य खानपानको पनि म आफैँ व्यवस्था गर्दै आइरहेको छु, लत्ताकपडादेखि चामल तरकारी किन्दा पौष्टिक आहार खाने पैसा नै पुग्दैन्’, उनले दुःखी हुँदै लोकपथलाई जानकारी दिए । 

दुःखै दुःखमा जिवनयापन गरेपनि रुपकले खेललाई निरन्तरता दिइरहेका छन् । पोखराको शान्तिवनमा भाडामा बस्दै आइरहेका उनलाई नेपाल स्ट्राङगगेस्ट क्योकुसिन कराँते डोले प्रशिक्षणको लागि सहयोग गरेको पनि उनले बताए ।

‘यो सहयोग मलाई आठौँ खेलकुद प्रतियोगितासम्मको लागि मात्र हो, त्यसपछि यो सहयोग मैले पाउँदिन’ रुपकले बताए । 

साथै उनले अहिलेसम्म सरकारी स्तरबाट हुनै पनि सहयोग नपाएको बताए । 

‘मैले अहिलेसम्म सरकारी स्तरबाट हुनै सहयोग पाएको छैन, अहिले अभ्यासका लागि सबै साथीहरुसँग मिलेर प्याण्डदेखि चाहिने खेलकुद सामाग्रीहरुको जोहो गर्दै आरहेका छौँ’ उनले भने । 

‘त आट म पु-याउँछु’ यो प्रचलित उखानले भनेझै खेलाडी रुपकले अहिलेसम्म जसोतसो आफ्नो बल बुतोमा खेललाई निरन्तरता दिइरहेका छन् ।

स्थानिय, प्रदेश र संघीय सरकारले खेलकुद र खेलाडीको विकासका लागि भन्दै वार्षिक रुपमा बजेट छुट्याउँदै आइरहेको छ । तर, रुपक जस्ता प्रतिभाशाली खेलाडीले छुट्याएको ती बजेटको अहिलेसम्म उपभोग गर्न समेत पाएका छैनन् ।

गरिब तथा प्रतिभाशाली खेलाडीलाई लक्षित गर्दै खेलकुदसँग सम्बन्धित निकायले सामान्य गाँसबाँससहित प्रशिक्षणको व्यवस्या गर्न सके पक्कै नतिजा राम्रो आउने कुरामा दुईमत नहोला । 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?