राँझा । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने खेलस्थलको निरीक्षण तथा अवलोकन गरेका छन् ।
उनले बाँकेको खजुरा क्षेत्रमा प्रतियोगिता आयोजना हुने खेलस्थलको निरीक्षणसँगै खजुरा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफलसमेत गरेका थिए ।
सो अवसरमा उनले खेलकुद प्रतियोगिता सफल बनाउन जनप्रतिनिधिलाई आग्रह गरे । ‘प्रतियोगिता हाम्रो पनि हो भनेर ग्रहण गरे मात्र सफल हुनेछ’, विष्टले भने । ‘प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ ।’
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले देशभरका खेलाडीलाई स्वागत गर्न गाउँपालिका आतुर रहेको बताए । ‘प्रतियोगितालाई हामीले अवसरका रुपमा लिएका छौँ’, उनले भने ।
प्रदेश नं ५ खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले प्रतियोगितालाई सफल बनाउन सहयोगी भूमिका खेल्न स्थानीयवासीसँग आग्रह गरे । खजुरामा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको भलिबल, हक्की र बक्सिङ खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया