काठमाडौं । ‘ए’ डिभिजन क्लब मनाङ मस्याङदी क्लबका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले ‘एएफसी’ कप फुटबल खेल्न आफ्नो खेलाडीहरु तयारी अवस्थामा रहेको बताएका छन् ।
बुधवारदेखि ललितपुरमा हुने यो प्रतियोगिताको लागि क्लबका सबै खेलाडीहरुको मनोबल उच्च रहेको पनि उनले जानकारी दिए । मंगलवार भएको प्रि म्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक गुरुङले घरेलु मैदानमा हुने खेलको लागि तयारी राम्रो भएको बताए ।
‘हामी लामो अवधिको लागि तयारी गन चाहन्थे, तर, प्राय खेलाडी राष्ट्रिय टिमका भएकाले त्यसो गर्न सकेनौं, हामीले थोरे समयमा पनि राम्रो तयारी गरेका छौँ’, उनले भने ।
‘घरेलु मैदानमा उत्कृष्ट खेल्ने प्रयास गर्नेछौँ, टिम पनि राम्रो नै बनेको छ, डिफेन्स लाइन, मिड र स्ट्राइकर लिगको भन्दा बलियो भएको छ, लिगमा भन्दा धेरै परिवर्तन छ, हाम्रो दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको छ’, उनले थपे ।
त्यस्तै कप्तान बिराज महर्जनले क्लबका सबै खेलाडीहरु शारीरिक र मानशिक रुपमा तयार रहेको बताए । ‘हामी घरेलु मैदानमा हुने खेलमा बलियो मानिएको अबहानी क्लबलाई निक्कै कडा टक्कर दिन्छौँ’, उनले भने ।
एएफसी कप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले बुधवार ढाकाको अबहानी लिमिटेडसँग खेल खेल्दैछ । यी दुई क्लबबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजेपछि शुरु हुनेछ ।
पहिलो खेलमा शुखद नतिजा निकाल्ने रणनीतिका साथ मनाङ मैदानमा उदैछ । समूह ‘इ’ मा रहेको मनाङले अवे खेल आगामी जुन १९ मा अबहानीसँग ढाकास्थित बंगबन्धु स्टेडियममा खेल्नेछ ।
होम एण्ड अवेको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया