इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड उल्भ्ससँग पराजित

एजेन्सी । म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ । 

मंगलवार राति भएको खेलमा लिगको पाँचौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेड सातौँ स्थानमा रहेको उल्भ्ससँग २-१ गोल अन्तरले पराजित भएको हो । खेल शुरु भएको १३ औँ मिनेटमा म्यान्चेस्टरका लागि स्कट म्याकटोमिनेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । 

त्यस्तै २५ औँ मिनेटमा उल्भ्सका लागि जोटाले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । खेलको पहिलो हाफसम्म एक-एक गोलको बराबरीमा रोकिएको म्यान्चेस्टरका एस्ले योङग रातो कार्ड खादैँ मैदानबाट बाहिरिए ।

खेलको ५७ औँ मिनेटमा योङग रातो कार्ड खादैँ बाहिरिएपछि म्यान्चेस्टर १० खेलाडीमा सिमित भएको थियो । त्यस्तै ७७ औँ मिनेटमा म्यान्चेस्टर युनाइटेडका क्रिस स्मललिङले आत्मघाती गोल गरे ।

त्यसपछि खेलमा थप गोल भएन र खेल उल्भ्सले २-१ गोल अन्तरले जित्यो । जितपछि उल्भ्सले ४७ अंक बनाएको छ ।

यता म्यान्चेस्टर युनाइटेडको भने ६१ अंक छ । समान ६१ अंक नै बनाएको टोट्नह्याम भने गोल अन्तरको आधारमा अघि रहँदै लिगको चौथो स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको लिभपुलको ७९ अंक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?