लमही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने दाङ बेलझुण्डीमा निर्माण भइरहेको एथलेटिक्स खेलमैदानमा मङ्गलबारदेखि सिन्थेटिक ट्रयाक निर्माण थालिएको छ ।
चीनबाट आवश्यक सामग्री ल्याएर सिन्थेटिक ट्र्याक बनाउने काम शुरु गरिएको दाङ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए । उनका अनुसार १ सय ८० मिटर लम्बाइ र १ सय २० मिटर चौडाइमा सिन्थेटिक ट्रयाक निर्माण गरिने भएको हो ।
आठौँ राष्ट्रिय खेलकूदको समय नजिकिँदै गर्दा उक्त खेलकूद मैदान निर्माणको कामलाई तीव्रता दिइएको छ । महिला फुटबल र एथलेटिक्स खेल हुने उक्त रङ्गशालामा अब एथलेटिक्सको खेल मैदान निर्माणको काम बाँकी रहेको अध्यक्ष डाँगीले बताए ।
‘बेलझुण्डी रङ्गशालामा एथलेटिक्स र फुटबल खेल हुनेछन्’, उनले भने, ‘फुटबल खेल मैदानको काम पूरा भइसकेको छ, अब एथलेटिक्स खेल मैदानमा सिन्थेटिक ट्र्याक निर्माण शुरु भएको छ ।’
२४ करोड २५ लाखमा छ बिघा क्षेत्रफलमा रङ्गशाला निर्माण भइरहेको छ । अहिले फुटबल र एथलेटिक्स खेल्न मिल्ने गरी मात्रै काम पूरा हुने र राष्ट्रिय खेल सकिएपछि बाँकी काम पूरा गरिने उनको भनाइ छ ।
अध्यक्ष डाँगीका अनुसार दाङको लमही क्रिकेट मैदान र तुलसीपुरको कराँते खेल स्थलसहित बेलझुण्डी रङ्गशालाको सबै काम यही चैत ३० गतेभित्रै सक्ने गरी तयारी थालिएको छ । प्रदेश नं ५ मा हुने राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा विभिन्न सात खेल हुँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया