देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १२ जना पक्राउ

लोकपथ
35
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा लागुऔषधको कारोबार मौलाएको देखिएको छ । प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको घटनाले यसलाई प्रष्ट पार्छ ।

प्रहरीका अनुसार झापा, बिर्तामोड नगरपालिका–४ स्थित सन्जोग होटल एण्ड लजबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम र नगद ८ हजार २ सय २५ रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–९ प्रणामी टोल बस्ने २४ वर्षीय अनुप भट्टराई र पाँचथर फिदिम नगरपालिका घर भई झापा बिर्तामोड नगरपालिका–३ बस्ने २७ वर्षीया सन्जु राई रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, दमक नगरपालिका–३ बेलडाँगीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद ७ हजार ८ सय २० रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सबहादुर लिम्बु सुब्बा र सोही नगरपालिका–२ बस्ने २७ वर्षीय मनाङ लिम्बु रहेका छन् ।

प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरीले सबहादुरको कोठाको जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचिनगर नगरपालिका–६ मेचिपुलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित दमक नगरपालिका–५ पारुहाङ टोल बस्ने ३५ वर्षीय सुबास बानियाँलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै पर्सा, वीरगंज महानगरपालिका–८ लिङ्करोडबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० मिलिग्राम र नियन्त्रित लागुऔषध नाइट्राभेट ३ ट्याबलेटसहित सोही महानगरपालिका–१५ बस्ने २५ वर्षीय सुशिलकुमार सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै बर्दिया, मधुवन नगरपालिका–६ बस्ने २० वर्षीय सुवास सुनार समेत २ जनालाई अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका–९ बाट अवैध लागूऔषषध ब्राउनसुगर १ ग्राम ६ सय ७० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१० बस्ने २४ वर्षीय मोहमद अस्लाम र ३३ वर्षीय नबराज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

त्यसैगरी कैलाली, गोदावरी नगरपालिका–१ बसन्तपुरबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्रामसहित बझाङ केदारस्यु गाउँपालिका–७ बस्ने ३८ वर्षीय खडक धामी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?