एजेन्सी । चेक रिपब्लिककी क्यारोलिना पिल्सकोभाले इटालियन ओपन टेनिस च्याम्पियनसिपको उपाधि जितेकी छिन् ।
रोममा आइतवार राति भएको महिला एकलतर्फको फाइनल खेलमा विश्व नम्बर सात पिल्सकोभाले ब्रिटेनकी जोहन्ना कोन्टालाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएकी हुन् ।
उनले खेलको पहिलो सेट ६-३ र दोस्रो सेट ६-४ को सेटमा पराजित गरिन् । यी दुई खेलाडीबीचको खेल एक घण्टा २५ मिनेट चलेको थियो । पिल्सकोभाले यो सिजनमा जितेको यो दोस्रो उपाधि हो । २८ वर्षिया कोन्टाले विश्व वरियताको उत्कृष्ट १० मा रहेका दुई खेलाडीलाई पराजित गर्दै यो प्रतियोगिताको फाइनलमा पुगेकी थिइन् ।
कोन्टाले भनिन्, ‘म यो वर्ष धेरै प्रगति गरिरहेको छु, मैले हरेक खेलमा सुधार गर्दै उत्कृष्ट प्रर्दशन पनि गर्दै आइरहेकी छु’
‘मायामी ओपन टेनिसपछि यो नै मेरो दोस्रो सबैभन्दा ठूलो फाइनल खेल हो, यो मेरो जीवनको सबैभन्दा उत्कृष्ट क्षण पनि हो, मैले खेलमा चाडै गरेको प्रगतिप्रति म निक्कै खुशी छु’, उनले थपिन् ।
सन् १९७१ पछि इटालियन ओपन टेनिसको फाइनलमा पुग्ने पहिलो खेलाडी समेत हुन् । यसअघि ब्रिटेनकी भर्जिनिया वाइड पहिलो पटक यो प्रतियोगिताको फाइनलमा पुगेकी थिइन् ।
त्यस्तै १९७८ पछि इटालियन ओपनको उपाधि जित्ने पिल्सकोभा पहिलो चेक खेलाडी समेत बनेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया