काठमाडौं । वर्तमान सत्तासाझेदार दलको प्रमुख घटक एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा सरकारको काममाथि सार्वजनिकरुपमै प्रश्न उठाउँदै आइरहेका छन् । विशेषगरी सरकारको कार्यसम्पादन र बजेटलाई लिएर एमाले अध्यक्ष ओलीको असन्तुष्टि देखिँदै आएको छ ।
यही सिलसिलामा सरकारको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक मन्त्रीले त सरकारमाथि नै जेहाड छेडेका छन् । उनले सरकार पुरातन शैलीमा चलेको भन्दै असन्तुष्टि मात्रै पोखेका छैनन्, समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको संकेतसमेत गरेका छन् ।
रास्वपा नेता एवं युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेकाले समर्थनबारे विचार गर्ने बेला आएको बताएका हुन् । उनले पार्टीको एक कार्यक्रममा आफ्नो पार्टीका मन्त्रीहरु खल्तीमा राजिनामा पत्र बोकेर हिँडेकोसमेत बताएका छन् । उनले भनेका छन्, ‘राजिनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ ।’
मन्त्री श्रेष्ठले कुनै पनि कुरामा रास्वपामाथि अनावश्यक, अनधिकृत हिसाबले सम्झौता गर्न लगाए सरकारबाट बाहिरिने चेतावनी दिए । ‘हामी सरकारमा छौँ, तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरी चलिरहेको छ । हामी दुईधारे तरबारका बीचमा चलिरहेका छौँ । केही चिजमा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुप¥यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजिनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो बोकेर हिँडेका छौँ ।’
यस्तै, हिजो शनिबार मात्रै संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेटको विषयलाई जोडेर सरकारप्रति असन्तुष्टि जनाएका थिए । सरकारले विकासको काममा आवश्यक ध्यान दिन नसकेको उनको आरोप थियो । गरिबी हटाएर देश विकास गर्न सरकारमा गए पनि त्यसतर्फ सरकार अगाडि बढ्न नसकेको ओलीको टिप्पणी थियो ।
‘एक–दुईजनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठीक, कति बेठीक, त्यो अलिक छलफल गर्नुपर्ने हुन्छ । हामी सरकारमा छौँ, एक–दुईजनाको मुख हेरेर, देश गरिबीतिर गए पनि के भयो भनेर हुन्छ ? हामी देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न सरकारमा गएका हौँ । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?,’ ओलीले प्रश्न गरे ।
बैठकमा उनले आफ्नै पार्टीका नेताहरूले चलाएका मन्त्रालयका काममा पनि असन्तुष्टि जनाएका थिए । एमालेले सम्हालेको मन्त्रालयको अवस्थाबारे पनि हेर्नुपर्ने उनले बताए । ‘हामीले नै चलाइरहेको मन्त्रालयको कस्तो छ स्थिति ? कस्तो छ त्यसको विनियोजन ? त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया