कमसल ढलान गुणस्तरीय भन्दै प्रतिवेदन दिने इन्जिनियर र सव इन्जिनियर भ्रष्टाचारमा दोषी ठहर

गाउँपालिकाका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सफाइ

लोकपथ
833
Shares

काठमाडौं । कमसल गुणस्तरको ढलानलाई गुणस्तरीय भन्दै प्रतिवेदन दिई रकम भुक्तानी गर्न सघाउ पुर्याउने इन्जिनियर र सव इन्जिनियर भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौंले महोत्तरीको एकडारा गाउँपालिकाका तत्कालीन इन्जिनियर सुभाष पाण्डेय र असिस्टेन्ट सव–इन्जिनियर सञ्जय कुमार मण्डललाई दोषी ठहर गरेको हो ।

गुणस्तरहीन काम गरेको उजुरी परेपछि छानबिन गरेको अख्तियारले स्थानीय सडकको ढलान गर्दा कम्प्रेसिभ स्ट्रेन्थ १५ न्युटन मिलिमिटर स्क्वायर हुनुपर्नेमा एभरेज कम्प्रेसिभ स्ट्रेन्थ चार दशमलब २६ न्युटन मिलिमिटर स्क्वायर मात्रै भएको पाइएको थियो ।
तर इन्जिनियर सुभाष पाण्डेय र असिस्टेण्ट सव इन्जिनियर सञ्जय कुमार मण्डलले प्रतिवेदन दिँदा भने कम्प्रेसिभ स्ट्रेन्थ १५ न्युटन मिलिमिटर स्क्वायर नै रहेको भनी प्रतिवेदन दिएका थिए ।

सोही प्रतिवेदनका आधारमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकाका उपाध्यक्षको प्रतिवेदनमा हस्ताक्षरपछि लेखा अधिकृतले ठेकेदार कम्पनीलाई ठेक्काको सम्पूर्ण रकम भुक्तानी गरिदिएका थिए ।

अख्तियारको छानबिनमा कैफियत देखिएपछि अख्तियारले गत वैशाख १४ गते विशेष अदालतमा एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डल, असिस्टेन्ट सव–इन्जिनियर सञ्जय कुमार मण्डल र ठेकेदार कम्पनी जानकी कन्स्ट्रक्सन प्रालिका सञ्चालक राकेश कुमार रायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

कुल ८ लाख ६५ हजार १४५ रुपैयाँ बिगो कायम गरी दायर मुद्दामा विशेष अदालतका न्यायाधीशत्रय खुशीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार इन्जिनियर सुभाष पाण्डेय, असिस्टेण्ट सव इन्जिनियर सञ्जय कुमार मण्डल र ठेकेदार राकेश कुमार रायलाई दोषी ठहर गरेको हो । अदालतले इन्जिनियर सुभाष पाण्डेय, असिस्टेण्ट सव इन्जिनियर सञ्जय कुमार मण्डललाई जनही २ लाख ८८ हजार ३८१ रुपैयाँ जरिवाना र तीन महिना कैदको फैसला सुनाएको छ ।

त्यसैगरी ठेकेदार कम्पनी जानकी कन्स्ट्रक्सनका सञ्चालक राकेश कुमार रायबाट ८ लाख ६५ हजार १४५ रुपैयाँ बिगो असुल उपर गरी २ लाख ८८ हजार ३८१ रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ ।

अख्तियारबाट प्रतिवादी बनाइएका उपाध्यक्ष उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह र योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डलले भने अदालतबाट सफाइ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?