सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय रायको घरमै धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । टाउकोमा धारिलो हतियार प्रयोग गरिएको अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव चन्द्रनगर–१ रतनपुरमा फेला परेको प्रहरीले जनाएको छ ।
रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । घरमा काम गर्ने रामउजैन रायका अनुसार रायलाई भेट्न तीन जना व्यक्ति राति आएकोमा उनीसँगै सुतेका थिए । उनीहरुले नै पूर्वराज्यमन्त्री रायको हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । सो घटनापछि उनीहरु फरार छन् ।
पूर्वराज्यमन्त्री रायमाथि प्रहार भएको उखु काट्ने घरेलु हतियार पनि बरामद भएको छ । घरकै छेउको बाँसघारीबाट हतियार फेला परेको हो । सोही हतियार प्रयोग गरी उनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए । ‘गएराति टाउकोमा घरेलु हतियार प्रयोग गरेर पूर्वराज्यमन्त्री रायको हत्या भएको छ,’ उनले भने, ‘अहिले केही भन्न सक्ने अवस्था छैन, हामी सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौं । लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेका छौँ ।’
रायका पत्नी र छोरा–बुहारी काठमाडौंमा बस्दै आएका छन् । उनी पनि केही दिनअघि मात्रै घरमा आएको खुलेको छ । पछिल्ला दिनमा घरमा एक जना कामदार र उनी मात्रै बस्ने गरेको पाइएको छ । राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए ।
उनी राप्रपाको गत महाधिवेशनमा उपाध्यक्ष उम्मेदवारसमेत थिए । मृतक राय तीन दाजुमध्ये माइलो थिए । उनको एक श्रीमती २ छोरा तथा ५ छोरी छन् । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले घटनाको सत्यतथ्य तत्काल पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्लाहीका पुराना नेता, राप्रपाको संस्थापक र गत महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार, पूर्वमन्त्री रामचन्द्र रायको आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सुनेर स्तब्ध भएको छु, निन्दनीय घटनाको सत्यतथ्य अविलम्ब जाँचबुझ गरियोस्, दोषी पत्ता लगाइयोस् र कडा कारबाही गरियोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया