अनलाइन सपिङमा ठगी : पैसा माग्ने, सामान नपठाउने

लोकपथ
357
Shares

काठमाडौं । बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै अनलाइन मार्फत रकम ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट माधनवनारायण नगरपालिका–२ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २१ वर्षीय सुगम साह र गौहर नगरपालिका–३ घर भई हाल काठमाडौं काटेश्वर बस्ने २३ वर्षीय सत्यम कुमार सहनी रहेका छन् ।

दुवैजनाको मिलेमतोमा सामाजिक सञ्जालको प्रयोग गरी ठगी गरेको आरोपमा उनीहरुविरुद्ध २२ जना पीडितले उजुरी दर्ता गराएका थिए । सोही उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धानको क्रममा उनीहरुले विभिन्न व्यक्तिको नाममा रहेको मोबाइल नम्बरबाट फोन गरी इसेवाको कर्मचारी हुँ, बैंककाे केवाइसी फर्म अपडेट लगायत विभिन्न कार्यहरु गरिदिन्छु भनि पीडितकै इसेवा वालेटको ओटिपी कोट मागी पीडितकै खाताबाट रकम ठगी गरेका थिए ।

साथै सुगम साहले पीडितलाई रेष्टुरेन्ट, डान्सबार जस्ता ठाउँको क्यूआरमा रकम पठाउन लगाई अनलाइन सपिङको सामान पठाइदिन्छु भनी रकम लिई सामान नपठाई ठगी गरेका थिए ।

त्यस्तैगरी सुगम साहले ९० जनालाई अनलाइन गेम सेयर गरे बापत १ हजार ५०० रुपैयाँ पाउने भन्दै यसका लागि पीडितको फेस स्क्यान गर्छु भनी सक्कली नागरिकताको फोटोसमेत खिचेर पीडितकै मोबाइल नम्बर नामको इसेवासमेत खोली ठगी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?