गठ्ठाघर दुर्घटनामा मृत्यु भएका व्यक्तिको सनाखत, प्रहरी भन्छ : ट्राफिक चेकिङमा दुर्घटना भएको भन्नु गलत

लोकपथ
42.6k
Shares

काठमाडौं । हिजो बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्ति ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइराला भएको पुष्टि भएको छ । भक्तपुर प्रहरी परिसरका डीएसपी राजन कार्कीका अनुसार आज शुक्रबार बिहान मात्र मृतकको सनाखत हुन सकेको हो । ६५ वर्षीय कोइराला काठमाडौंको कपन बस्दै आएका थिए ।

उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । उनी सवार बा४९प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना६ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । शरीरका अधिकाँश अंग क्षतविक्षत भएकाले उनको सनाखतमा ढिलाइ भएको हो । मृतकको साथमा उत्तम कोइराला, ओखलढुंगा रातमाटे– ५ लेखिएको सवारी चालक अनुमति पत्र फेला परेको थियो । तर मृतक कोइराला नै हुन् भन्ने पुष्टि गर्न पनि प्रहरीलाई लामो समय लागेको थियो । कतिपयले अर्काको लाइसेन्स बोकेर सवारी साधन चलाउने भएकाले पनि मृतक कोइराला नै हुन् होइनन् भनेर यकिन गर्न पनि प्रहरीले केही समय लिएको थियो ।

शुक्रबार बिहान आफन्त आएर सनाखत गरेपछि मात्रै प्रहरी मृतक कोइराला नै भएको निष्कर्षमा पुगेको हो । त्यसो त, दोलखाको मेलुङ गाउँपालिका–४ का करिब ३० वर्षीय शम्भु नेपालीले दुर्घटनाको केही समयपछि नाम नै किटेर मृतक आफ्नी बहिनी भएको बताएपछि दुर्घटनामा मृत्यु भएका व्यक्ति महिला भएको भनेर प्रचार भएको थियो । तर मृतक भनिएकी महिला नै आफ्नो परिचयपत्रसहित प्रहरीसमक्ष पुगेपछि नेपालीले झुट बोलेको पुष्टि भएको थियो । ‘उनले मृतकलाई आफ्नी बहिनी भनेर विवरण टिपाएका थिए, तर त्यो होइन रहेछ,’ जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी कार्कीले भने । मृतक भनिएकी महिला नै प्रहरी समक्ष पुगेपछि प्रहरीले शम्भु नेपालीलाई पक्राउ गरी ठिमी प्रहरीको हिरासतमा राखेको छ ।

उनले मृतकलाई किन आफ्नी बहिनी भने भन्ने पनि खुलेको छैन । उनले यसअघि पनि पटक–पटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको कार्कीले बताए । ‘उनले किन त्यसो भनिरहेका छन्, अहिले केही भन्न सक्ने अवस्था छैन । हामी थप अनुसन्धानकै क्रममा छौँ,’ कार्कीले भने। ।, त्यसो त ज्यान गुमाउने स्कुटर चालक महिला हो कि पुरुष भनेर छुट्याउन नै प्रहरीलाई झण्डै पाँच घण्टा लागेको थियो । बिहीबार दिउँसो १ बजेर ४० मिनेट जाँदा भएको सो घटनामा मृतक महिला भएको विवरण प्रहरीले सार्वजनिक गरेको थियो । तर, साँझ ६ बजेपछि मात्रै दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको निष्कर्षमा प्रहरी पुगेको थियो ।

यो विषयमा डीएसपी कार्कीले भने, ‘शव क्षतविक्षत अवस्थामा थियो, चिन्न सक्ने अवस्थामा थिएन, त्यहीबेला एकजना व्यक्ति आएर मृतक आफ्नी बहिनी भएको बताएपछि हामीले मृतक महिला भएको विवरण सार्वजनिक गरेका थियौँ ।’ मृतकको एउटा खुट्टा बाहेक शरीरको कुनै पनि भाग सग्लो नहुँदा पनि सनाखतमा समस्या भएको उनको भनाइ थियो । आफूहरु झुक्किनुको कारण खुलाउँदै उनले भने, ‘खुट्टा हेर्दा महिलाको जस्तो देखिन्थ्यो, चप्पल पनि महिला/पुरुष दुवैले लगाउन मिल्ने खालको थियो, सुरुवाल पनि महिलाले लगाउने टाइट खालको थियो, त्यही भएर पनि हामी झुक्किन पुग्यौं ।’ उनले दुर्घटना हुने बित्तिकै त्यहाँ लफडा सुरु भएकाले राम्ररी शव हेर्न नपाएकाले पनि समस्या भएको उनको भनाइ थियो । ‘लफडा भएपछि हामीले शवतिर ध्यान दिन पनि पाएनौँ, शव राम्ररी हेर्न सक्ने अवस्था पनि थिएन,’ उनले भने, ‘अनुसन्धानको टोलीले शवलाई ओल्ट्याउने, पल्टाउने गरेपछि मात्रै मृतक महिला नभएर पुरुष भएको निष्कर्षमा हामी पुगेका हौँ ।’ दुर्घटनास्थलको अवस्था शान्त भएपछि मात्रै प्रहरीको अनुसन्धान टोली घटनास्थल पुगेको थियो । ‘अनुसन्धान टोली नआई आफूहरुले शवलाई ओल्टाउने–पल्टाउने कुरा पनि हुँदैनथ्यो,’ कार्कीले भने ।

स्थिति साम्य हुँदै गएपछि घटनास्थलको सीसीटीभी फुटेज हेरेपछि मात्रै प्रहरी मृतक पुरुष भएको निष्कर्षमा पुगेको थियो । उनले ट्राफिक प्रहरीले चेकिङ गरिरहेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्ने कुरा पनि गलत भएको बताए । ‘घटनास्थलभन्दा झण्डै सय मिटर अगाडि मात्रै ट्राफिक प्रहरीको चेकिङ थियो, ५ जना ट्राफिक ड्युटीमा थिए,’ डीएसपी कार्कीले भने, ‘ट्राफिकले स्कुटर र ट्रक दुवै सवारीलाई रोकेकै थिएन । घटनास्थल भन्दा निकै अगाडि मात्रै ट्राफिक थिए । ट्रकलाई स्कुटरले ओभरटेक गर्दा बाँया साइडबाट गयो ।

ट्रकको पछाडिको चक्कामा स्कुटर परेपछि घटना भएको हो ।’ ट्राफिक चेकिङका क्रममा दुर्घटना भएको हल्ला फैलिएपछि ट्राफिक प्रहरीलाई ज्यान जोगाउनै मुस्किल परेको थियो । उनीहरुले भागेर ज्यान जोगाएका थिए । सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन भएपछि घटना नियन्त्रणमा आएको थियो । ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका–२ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई भने प्रहरीले राति नै पक्राउ गरिसकेको छ । दुर्घटनापछि उनी फरार रहेका थिए । उता, गठ्ठाघर दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?