गाजा युद्ध अन्त्य गर्न इजरायलमाथि चर्को दबाब

अमेरिका भन्छ : युद्धविराम सम्झौताको समय आइसक्यो

लोकपथ
49
Shares

जेरुसेलम । संयुक्त राज्य अमेरिकाले गाजा युद्ध अन्त्यका लागि इजरायल र हमासबीच भएको सम्झौतालाई ‘अन्तिम रूप’ दिने समय आएको बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तर्राष्ट्रिय दबाबसामु झुक्न अस्वीकार गरिरहेका बेला इजरायलको प्रमुख सहयोगी अमेरिकाले सम्झौताका लागि जोड दिएको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इजिप्ट र कतारसँग मिलेर अन्तिम सहमतिका लागि दबाब दिने बताएका छन् ।

नेतन्याहूले युद्धग्रस्त प्यालेस्टिनी भूमिबाट मारिएका छ जना बन्धकलाई इजरायली सेनाले स्वदेश लगेपछि बढ्दो घरेलु र अन्तर्राष्ट्रिय दबाबका बाबजुद हमाससँगको अप्रत्यक्ष वार्तामा ‘लचकता अपनाउन’ अस्वीकार गरेपछि मिलरको यो भनाइ आएको हो । मिलरले भने, ‘यो सम्झौतालाई अन्तिम रूप दिने समय हो ।’

संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर तुर्कले गाजाबाट मृत अवस्थामा फेला परेका छ जना बन्दीलाई मृत्युदण्ड दिइएको भन्ने समाचारको ‘स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन’ हुनुपर्ने बताएका छन् । सरकारलाई दबाब दिन र बन्धक बनाइएकाहरूको भविष्यबारे चिन्ता व्यक्त गर्न सडकमा उत्रिएका इजरायलीहरूबीच बढ्दो दुःख र आक्रोशका बाबजुद नेतन्याहूले आफू ‘दबाबमा नझुक्ने’ बताएका छन् ।

तेल अभिभका प्रदर्शनकारी जोनाथन इदानले भने, ‘इजरायली प्रधानमन्त्रीले हमाससँग हाम्रा बन्धकहरूलाई जीवितै फर्काउने सम्झौता गर्ने हाम्रो सम्भावनालाई मारिरहनुभएको छ । उहाँ बाँच्न चाहेको एउटै मात्र कुरा उहाँको राजनीतिक जीवन र गठबन्धन हो ।’

इजरायली प्रधानमन्त्रीले ‘युद्धको उद्देश्य प्राप्तिका लागि’ गाजा–इजिप्ट सीमामा रहेको फिलाडेल्फिया करिडोरको नियन्त्रण आवश्यक रहेको बताएका छन् ।

इजिप्टले गाजाको सीमा हमासको हतियारका लागि प्रयोग गरिएको भन्ने आरोपको खण्डन गर्दै नेतन्याहुले इजरायली जनमतलाई विचलित पार्न र युद्धविराम सम्झौतामा पुग्न बाधा पु¥याउन खोजेको आरोप लगाएको छ । साउदी अरबले कायरोको समर्थन गर्दै ‘फिलाडेल्फिया करिडोर’का सम्बन्धमा इजरायली वक्तव्यको कडा निन्दा र भत्र्सना’ गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ताकारहरूसँगको भेटमा नेतन्याहुले बन्धक सम्झौताका लागि पर्याप्त काम गरिरहेको ‘छ’ कि ‘छैन’ भन्ने प्रश्नको जवाफमा ‘छैन’ भन्ने प्रतिक्रिया वार्ताकारहरूले दिएका थिए । ‘हमासले लामो समयदेखि गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ताको माग गर्दै आएको छ र इजिप्टका अधिकारीहरूले सीमामा इजरायली सेनाको उपस्थितिप्रति आपत्ति जनाउँदै आएका छन्

‘नेतन्याहुले गाजालाई अनिश्चितकालका लागि केही हदसम्म कब्जा गर्न चाहेको देखिन्छ र अब उनले यसलाई अझ खुलेर भनिरहेका छन्,’ विश्लेषक मैरव जोन्सजेनले एएफपीसँग भने । इजरायलले सन् १९६७ मा गाजा पट्टीकब्जा गरेको थियो र सन् २००५ सम्म त्यहाँ सैनिक र बसोवास कायम राखेको थियो । यो पछि हटेको थियो तर नाकाबन्दी लगाइएको थियो र हालको युद्धको सुरुवातदेखि नै पूर्ण घेराबन्दी गरिएको छ ।

इजरायलमाथि दबाब बढाउँदै बेलायतले अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघमा हतियारको प्रयोग हुन सक्ने ‘स्पष्ट जोखिम’ रहेको भन्दै केही हतियार निर्यातमा रोक लगाउने बताएको छ । गाजामा आफ्नो आक्रमण जारी राख्दा इजरायली सेनाले बुधबार जोर्डनसँग सीमा जोडिएको देशको पूर्वबाट इजरायलमा प्रवेश गर्ने क्रममा एउटा मानवरहित विमानलाई रोकेको दावी गरेको छ ।

इजरायलले गत अक्टोबर ७ देखि हमासविरुद्ध चलाएको अभियानका कारण गाजामा कम्तीमा ४० हजार ८१९ जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेको जनाएको छ ।

इजरायलको दक्षिणी क्षेत्रमा गत अगस्ट ७ मा हमासले गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो र मृत्यु हुनेमा अधिकांश सर्वसाधारण थिए । आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकूले कब्जामा लिएका २५१ बन्धकमध्ये ९७ जना गाजामै रहेका छन् भने ३३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । गत नोभेम्बरमा एक सातालामो युद्धविरामका क्रममा दर्जनौँ व्यक्तिलाई रिहा गरिएको थियो ।

हमासको सशस्त्र शाखाका प्रवक्ता अबु ओबेदाले सोमबार इजरायलले उक्त क्षेत्रमा आफ्नो सैन्य दबाब कायम राखेमा बाँकी बन्धकहरू ‘कफिन’ मा फर्कने बताएका छन् । गाजा भग्नावशेषमा परेको र त्यहाँका २४ लाख बासिन्दामध्ये अधिकांश कुनै न कुनै रूपमा विस्थापित भएको र प्रायः साँघुरो र अस्वस्थ्यकर अवस्थामा शरण लिइरहेको कारण रोग फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?