विद्यार्थीहरुलाई प्रचण्डले भने– ‘तपाईँहरु सडकको बाघ, म संसद्को सिंह’

लोकपथ
56
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयमा नै वर्तमान सत्ता पल्टाइदिनसक्ने चेतावनी दिएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीको २३औँ सम्मेलनलाई सम्बोधन गर्दै युवा विद्यार्थीहरुको साथ भएमा आफूले केही महिनामा नै परिस्थिति उल्ट्याइदिन सक्ने बताए । त्यस्तै उनले अखिल क्रान्तिकारी सडकमा बाघ भएको निस्किएको भन्दै आफू प्रतिनिधि सभामा सिंह भएर निक्लेको बताए ।

‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ । तपाईँहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौँ,’ उनले भने, ‘हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु । दुई तिहाइहरूलाई रक्षात्मक पोजिसनमा धकेलेका छौं । हामी जितको पक्षमा छौं ।’

त्यस्तै प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरोध आन्दोलन अघि बढाएपछि आफूलाई सरकारबाट हट्न बाध्य बनाइएको समेत बताए ।

साथै जनयुद्धका बेला समेत आफूहरुलाई सखाप पार्न षड्यन्त्र भएको र आफूहरुले घेराबन्दी तोड्दै आएको बताए । साथै शान्तिप्रक्रियामा आएपछि पनि घेराबन्दी गरेर सखाप पार्ने नीति बाह्य तत्वबाट आएको भन्दै त्यसलाई समेत आफूहरुले चिर्दै आएको दाबी गरे ।

‘हिजो जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो । हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौँ । अहिले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई कहिँ न कहिँ घेरा हाल्ने माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको छ,’ उनले भने, ‘हामीले त्यसको घेरा तोड्दै आएका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?