दुई महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

लोकपथ
56
Shares
फाइल तस्बिर

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड दुई महिनापछि सञ्चालन भएको छ । 

बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्र्याक बगाउँदा गत साउन ९ गतेदेखि उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।

सडकको ट्र्याकलाई पुरेर शुक्रबारदेखि नियमित यातायातका साधन सञ्चालनमा ल्याइएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । सडक पटकपटक अवरुद्ध भएपछि बागलुङ नगरपालिका र कालीगण्डकी करिडोर आयोजनाले खुलाउने प्रयास गरे पनि दुई महिनापछि सञ्चालनमा आएको उनले बताए । 

यसअघि करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई वैकल्पिक सडकका रूपमा सञ्चालनमा ल्याइएको थियो । उक्त सडकमा हलुका सवारीसाधन मात्रै आवतजावत गर्ने व्यवस्था मिलाइएको उपप्रमुख शर्माले बताए ।  

पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि गण्डकी प्रदेश सरकारले पहिरोको विकल्पमा पुल बनाउन थालेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?