सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ

लोकपथ
210
Shares

काठमाडौं । सहकारी बचतकर्ताको रकम अपचलन गरी झण्डै डेढ वर्षदेखि फरार रहँदै आएका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । २०८० जेठदेखि फरार रहेका उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी बेपत्ता रहेको आरोप छ ।

नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले उनी पक्राउ परेको पुष्टि गरेका छन् । उनले पक्राउ परेका मेयर नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको पनि बताए ।

उनी फरार रहेपछि २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । उनीमाथि बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी फरार रहेको अभियोग छ । यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए ।

मेयर नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ । उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

उनकी श्रीमती छेला नेपालीलाई पनि पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीहरुको अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) मार्फत् ’रेड कर्नर नोटिस’ जारी गरेको हो ।

अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको आशंका भएको भन्दै सहकारीका पीडितहरुले रेड कर्नर नोटिस जारी गर्नुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?