दसैँको शुभकामना दिँदै ज्ञानेन्द्रले भने– ‘नारायणहिटी छाडेको २ दशक पुग्न लाग्दा पनि जनताले सुख पाएनन्’

लोकपथ
273
Shares

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बडादसैँको शुभकामना व्यक्त गरेका छन् ।

संवाद सचिव फणीराज पाठकले एक सन्देश जारी गर्दै देशमा गणतन्त्र प्राप्त भए पनि जनताले सोचे अनुसारको परिवर्तन हुन नसकेकोप्रति असन्तुष्टि जनाएका छन् ।

उनले ०६२/०६३ को आन्दोलनपछि जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आफूहरुले सहज रुपमा नारायणहिटी राजदरबारबाट बिदा लिएको स्मरण गरे । आफूहरुले शाहवंशीय परम्परा यथोचित पालना गर्दै नारायणहिटी दरबार छाडेको दुई दशक हुनै लाग्दा पनि जनतामा आशा पलाउने भन्दा निराशा बढिरहेको बताए ।

‘खुसी हुन र रमाउन दसैँ नै पर्खनुपर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पूरा हुन नसक्दा दुख लाग्नु स्वभाविक हो । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ । तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेशमै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो बेचैनी बढाएको छ,’ जारी सन्देशमा भनिएको छ ।

नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको बताउँदै अर्थतन्त्र सुधारको बाटो वर्तमान नेतृत्वकर्ताले खोज्न नसक्दा देशमा कहालीलाग्दो वातावरण सिर्जना भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?